म्यासाचुसेट्स उत्कृष्ट राज्य

खबर, लेख

दिनेश कार्की, मनोज अधिकारी

बोस्टन, अमेरिका

असार १९, २०७४

म्यासाचुसेट्स अमेरिकाको उत्कृष्ट राज्य घोषित भएको छ । यूएस न्यूज एण्ड वल्र्ड रिपोर्टले स्वास्थ्य सेवा, शिक्षा, अर्थतन्त्र, अपराध र सुधार, भौतिक संरचना, अवसर र राज्य सरकारलाई समग्र रुपमा विश्लेषण गर्दा अमेरिकाका ५० राज्यमध्ये म्यासाचुसेट्स पहिलो स्थानमा परेको हो ।

यो राज्य शिक्षाको क्षेत्रमा पहिलो स्थानमा रहेको छ भने स्वास्थ्य सेवामा दोस्रो स्थान तथा अर्थतन्त्रमा पनि पाचौं उत्कृष्ट स्थानमा रहेको छ ।

हालै सार्बजनिक गरिएको सूचिमा न्यूइंगल्याण्ड क्षेत्र अन्र्तगतकै अर्काे राज्य न्यूह्याम्सर दोस्रो उत्कृष्ट स्थानमा परेको छ । विश्वकै आर्थिक केन्द्र मानिने न्यूयोर्क राज्य भने १७ औं स्थानमा परेको रिपोर्टमा जनाइको छ । सबैभन्दा धेरै जनसंख्या भएको पश्चिम तटीय राज्य क्यालीफोर्निया २३ औं स्थानमा छ ।

पछिल्लो समय धेरै नेपालीहरु अमेरिकामा आन्तरिक बसाइसराइ गरेको अर्को ठूलो राज्य टेक्सस भने ३८ औं नम्बरमा रहेको छ ।

उत्कृष्ट राज्यहरुको बरियताले हजारौं तथ्यांक प्रयोग गरेको र राज्यहरुले आफ्ना नागरिकको लागि कस्तो किसिमले काम गरिरहेका छन् भन्ने कुरा देखाएको रिपोर्टमा जनाइएको छ । अधिकांश मानिसलाई जे कुराले महत्त्व राख्छ, त्यसलाई बढी वजनदार मानिएको थियो । प्रतिवेदनमा स्वास्थ्य सेवा र शिक्षालाई धेरैले महत्व दिएका थिए ।

त्यस्तै, राज्यले नागरिकलाई दिएको अवसर, राज्यको अपराध तथा सुधार र भौतिक संरचनालाई पनि मुख्य आधार मानिएको थियो । यहाँका मानिसको रोजाइमा स्वास्य सेवा पहिलो, शिक्षा दोस्रो, अपराध र यसको सुधार तेस्रो प्राथमिकतामा परेका छन् । पूर्वाधार विकास चौथो र अवसरलाई अमेरिकनहरुले पाचौं स्थानमा पारेका छन् । त्यस्तै, अर्थतन्त्र छैटौं, सरकारी सेवा सातौँ स्थानमा परेका छन् ।

‘यसरी मापन गर्दा राज्यको अर्थतन्त्र र सरकारी प्रशासनलाई पनि आधार मानिएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘यसैकुराले म्यासाचुसेट्स वरियातामा किन शिक्षामा पहिलो र स्वास्थ्य सेवामा दोस्रो नम्बर अनि समग्रमा पहिलो नम्बरमा प¥यो भन्ने बताउँछ ।’

म्यासाचुसेट्सका गभर्नर चार्ली बेकरले राज्यमा गज्जबको शिक्षा, गज्जबका मानिसहरु र समग्र वातावरण नै राम्रो भएका कारण यो राज्य अमेरिकाकै पहिलो राज्य भएको सीबीएस लोकलमा प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘कमनवेल्थलाई जसले आफ्नो घर भनेका छन्, उनीहरुको प्रयास र गुणका कारण म्यासाचुसेट्स बस्न, काम गर्न र परिवार हुर्काउनका लागि उत्कृष्ट राज्य भएको छ ।’

म्यासाचुसेट्स राज्यलाई औपचारिक रुपमा कमनवेल्थ राज्य पनि भनिन्छ । यो राज्य अमेरिकाकै सबैभन्दा बढी स्नातक गर्ने व्यक्तिहरु भएको राज्यअन्तर्गत पर्दछ ।

स्वास्थ विमा नभएका व्यक्तिहरुको संख्या अमेरिकामै सवैभन्दा न्यून रहेको छ । यद्यपि, स्वास्थ क्षेत्रमा उत्कृष्ट र जटिल शल्यक्रियाहरु सम्पन्न गर्ने अस्पतालहरु मास जनरल, ब्रिगम एण्ड विमेन्स हस्पिटल र बोस्टन चिल्ड्रेन्स पनि यही राज्यमा पर्दछन् ।

म्यासाचुसेट्मा सबैखाले स्टाटसमा बसोबास गर्ने नेपालीको संख्या करिब ३० हजार रहेको अनुमान छ । शरणार्थी बनेर ग्रीनकार्ड लिएका, डिभी परेर आएका र एचवानवीबाट स्थायी ग्रीनकार्ड लिएका बाहेक विद्यार्थीहरुको सङ्ख्या पनि बाक्लै रहेको छ । अन्य राज्यभन्दा तुलनात्मक रुपले बढी जनसाङ्ख्यिक विविधता रहेको यो राज्यमा रंगभेद पनि न्यून रहेको छ । त्यसो त, ओभरस्टे गरेर गैरकानुनी रुपले बस्ने नेपालीहरु पनि यो राज्यमा उल्लेख्य छन् ।

म्यासाचुसेट्का दुई ठूला विश्वविद्यालयहरु हार्वड युनिभर्सिटी र म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआइटी)को ठूलो रिसर्च एण्ड डेभलपमेन्ट खर्च तथा यी दुइ विश्वविद्यालयहरुले सिर्जना गरेको वातावरणले पनि म्यासाचुसेट्स पहिलो नम्बरमा रहन सफल भएको ब्लुमबर्गले बताएको छ ।

हार्वड, एमआइटी, वियुजस्ता विश्वविद्यालयदेखी जिन एडिटिंग टेक्नोलोजिको चर्चित कम्पनी ब्रोड इन्सटिच्यूट पनि यही राज्यमा छ । यो राज्य नेपालीहरुको पनि मुख्य रोजाइमा पर्ने गरेको छ ।

म्यासाचुसेट्सलाई आफ्नो बासस्थानको रुपमा रोज्नुको कारण उत्कृष्ट शिक्षा र सुलभ स्वास्थ्य रहेको महिला अधिकारकर्मी रुक्मिणी कार्की बताउँछिन् । ‘यो राज्य सार्बजनिक यातायातको दृष्टिले पनि उत्तिकै सुलभ छ’, कार्की थप्छिन्, ‘गाडी नकिने पनि काम चल्छ ।’

एक बहुराष्ट्रिय कम्पनीमा सिनियर कम्प्युटर इन्जिनियरको रुपमा कार्यरत अनुपम श्रीवास्तव यो राज्यमा प्रचुर मात्रामा अवसरहरु रहेको बताउँछन् । ‘कम्प्युटर टेक्नोलोजी र बायोटेकका नयाँनयाँ आविष्कारहरु यो राज्यमा हुने गर्छन्’, श्रीवास्तव भन्छन्, ‘यो राज्य मन पर्नुका पछाडि यहाँ वर्षभरीमा सवै ४ सिजनहरु हुनेगर्छन् ।’ उनले थपे, ‘शरद, वसन्त र गृष्म मात्र होइन यो राज्यको हिउँद पनि मलाई मन पर्छ ।’

घरजग्गासम्बन्धी कारोबार गर्दै आएको नेपालीहरुको कम्पनी ग्रुप टेनका प्रमुख कार्यकारी अधिकृत (सीइओ) उमेश पनेरु बोस्टनमा एकपटक आएका मानिस अन्यत्र खासै नसर्ने बताउँछन् ।

‘नेपालीहरुका लागि अवसर, पठनपाठन, स्वास्थदेखी सरसहयोग सबै दृष्टिले यो जतिको राम्रो राज्य अन्त छैन’, पनेरु दाबी गर्छन् । ब्रिगम एण्ड विमेन्स हस्पिटलमा हिस्टोलोजी स्पेसलिष्टको रुपमा कार्यरत पनेरु संघर्ष गरेर छिट्टै व्यवस्थित जीवनको बन्दोबस्ती मिलाउनका लागि म्यासाचुसेट्स राज्य अत्यन्त राम्रो भएको बताउँछन् ।

नवीन खोजमा पनि म्यासाचुसेट्स अगाडि

अमेरिकाको अर्को प्रतिष्ठित विजनेश म्यागाजिन ब्लुमबर्ग मार्केट्सले केही महिना अगाडि गरेको अध्ययनमा पनि म्यासाचुसेट्स राज्य नविन खोजको क्षेत्रमा पहिलो नम्बरमा रहेको तथ्य सार्वजनिक गरेको थियो ।

सो प्रकाशन संस्थाले ‘अमेरिकाज मोस्ट इन्नोभेटिव स्टेट–२०१६’ को पहिलो नम्बरमा म्यासाचुसेट्सलाई राखेको थियो । अघिल्लो वर्ष पनि यही राज्य पहिलो नम्बरमा रहेको थियो । खोज तथा विकास, उत्पादनशीलता, प्रविधि उद्योगको घनत्व, विज्ञान प्रविधी शिक्षाको सघनता, विज्ञान र इन्जिनियरिङका डिग्री होल्डर, बौद्धिक सम्पत्तिका गतिविधिजस्ता विषयलाई आधार बनाएर सूचकांक निर्धारण गरिएको ब्लुमबर्गले जनाएको छ ।

म्यासाचुसेट्का दुई ठूला विश्वविद्यालयहरु हार्वड युनिभर्सिटी र म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआइटी)को ठूलो रिसर्च एण्ड डेभलपमेन्ट खर्च तथा यी दुइ विश्वविद्यालयहरुले सिर्जना गरेको वातावरणले पनि म्यासाचुसेट्स पहिलो नम्बरमा रहन सफल भएको ब्लुमबर्गले बताएको छ ।

यो सूचिमा, क्यालीफोर्निया दोस्रो नम्बरमा थियो भने न्यूयोर्क १८ औं र टेक्सस १९ औं थियो । त्यस्तै, मिसिसिपी सबैभन्दा पुछारमा थियो।

‘कम्पनीहरुलाई आकर्षित गर्न राज्यले दिएको कर छुट तथा प्रोत्साहन, अनुसन्धानमा दुई ठूला नामहरु हार्वड र एमआइटीसँगको सहकार्य र खोज अनुसन्धानबाट प्राप्त बौद्धिक सम्पत्तियोग्य उत्पादनहरुका कारण म्यासाचुसेट्स अग्रस्थानमा रहेको हो ।’, बोस्टनस्थित पायोनिअर इन्स्टिच्यूटका निर्देशक ग्रेक सलभानलाई उदृत गर्दै ब्लूमबर्गले लेखेको छ ।

सेतोपाटी डट कममा प्रकाशित सोमबार, असार १९, २०७४

https://setopati.com/global/america/56907?fbclid=IwAR3GmZ0Omd50DHZTvua4fIU78-CHM3qlaCsrxFeSKM3HfUkwHDpOQ9DXnmY

Leave a Reply