कोरोना भाइरसबाट १० लाख मानिसको मृत्यु

खबर, लेख, लेख

मनोज अधिकारी

बोस्टन, अमेरिका

कोरोना भाइरसबाट विश्वभर १० लाख मानिसको मृत्यु भएको छ । चीनको वुहान सहरमा पहिलोपल्ट गत डिसेम्बरमा देखा परेको यो भाइरसले अन्टार्टिका महाविद्धपबाहेक संसारका हरेक देशका मानिसको ज्यान लिएको छ ।


कोरोनाबाट करिब १० महिनाको यो अवधिमा मृत्यु हुनेको यो संख्या सन् २००४ मा हिन्द महासागरमा भुकम्प र सुनानीबाट मर्नेको संख्याभन्दा चार गुणा बढी हो । यस्तै अमेरिकाको न्यूयोर्कस्थित ट्वीन टावर हमलामा मारिनेको संख्याभन्दा ३ सय ३५ गुना बढी भएको सिएनएनले जनाएको छ ।


यो भाइरसबाट हालसम्म ३ करोड ३४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । अझै पनि विश्वभर हरेक दिन लाखौं मानिसमा यसको संक्रमण जारी छ ।

मानिसको श्वासबाट छिटो छिटो अरुमा फैलने यो भाइरसलाई विश्व स्वास्थ्य संगठनले गत मार्च १४ मा विश्वव्यापी महामारीको रुपमा घोषणा गरेको हो ।


त्यसयता यो भाइरसबाट बच्न संसारभर लकडाउन, सटडाउन, सामाजिक दुरी, क्वारेन्टाइन, सेनिटाइनजर प्रयोग जस्ता अभ्यासहरु चलिरहेका छन् । यद्यपी कोरोनाको उचित उपचार अझै पत्ता नलागेका कारण मानव स्वास्थ्यका लागि यो अझै भयावह समस्याका रुपमा रहँदै आएको छ ।


कोरोनाले मानव स्वास्थ्यको अवस्थामाथि पनि प्रश्न चिन्ह खडा गरिदिएको छ । हामी को हौं र हामी कसरी जोखिमपूर्ण व्यवहार गर्छौं भन्ने डरलाग्दो सत्य पनि यसले देखाइदिएको छ । यो महामारीले जस्तोसुकै सुविधासम्पन्न र धनी मानिने मुलुक र त्यहाँको प्रशासन प्रणालीलाई समेत असफल सावित गरि सबैलाई स्तब्ध पारिदिएको सिएनएनले उल्लेख गरेको छ ।


कोरोनाले विश्वकै अर्थतन्त्रमा समेत दुरगामी असर गरेको छ । यसले विश्वभरको पर्यटन, उद्योग, उत्पादन र सेवा क्षेत्रलाई चौपट पारिदिएको छ । यस्तै शिक्षा प्रणाली र कामकाजको तौरतरिकामा समेत ब्यापक फेरबदल गर्नुपर्ने अवस्था सृजना गरिदिएको छ । यो रोगको संक्रमणकै डरले एक मुलुकबाट अर्काे मुलुक वा ठाउँसम्म मानिसहरुको आवत जावतमा रोक लगाउनु परेको छ ।


कोरोनाबाट हालसम्म सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका हो । त्यसपछि इण्डिया, ब्राजिल, रुस, कोलम्बिया, पेरु, स्पेन, मेक्सिको लगायत देश छन् । अमेरिकामा मात्रै कोरोनाबाट अहिलेसम्म झण्डै ७३ लाख मानिसमा कोरोना संक्रमण भइसकेको छ भने दुई लाख ९ हजार जनाको मृत्यु भएको छ । यस्तै इण्डियामा ९६ हजार र ब्राजिलमा एक लाख ४२ हजार जनाको मृत्यु भएको छ ।


कोरोना भाइरसको खोप निर्माणका लागि विश्वका कतिपय मुलुकहरुमा खोज र अनुसन्धानहरु भइरहेका छन् । हाल अमेरिका, बेलायत, रुस, चीन, जापान लगायत मुलुकले कोरोनो विरुद्धको खोपका विभिन्न अनुसन्धानमुलक चरण पार गर्दै मानव परीक्षणको क्रममा छन् ।
संसारभरका मानिसका लागि कोरोना विरुद्धको खोप कहिले बन्छ र आफ्नो पहुँचमा आइपुग्छ भन्ने व्यग्र प्रतीक्षा छ ।

प्रकाशित मिति असोज १३, २०७७

Leave a Reply