त्यो दसैं, यो दसैं

लेख, लेख

त्यो दसैं, यो दसैं

मनोज अधिकारी

कात्तिक ८, २०७७

आफु जन्मे–हुर्केको गाउँ–घरमा रमाइलो गर्दै दसैं मनाउन नपाएको २५ वर्ष नाघिसकेछ । आज पुराना ती दिन सम्झँदा दृश्यहरु निकै पर देखिँदा रहेछन् ।
दसैंमा प्रायः एक्लो हुने व्यक्तिमध्ये म एक हुँ । घरबाट खासै टाढा नबसे पनि काम विशेषले धेरै वर्ष यस्तै हुन गयो ।


परिवार टाढा हुने सहकर्मी वर्षेनी आलोपालो गरि हप्ता दिनकै छुट्टी लिएर घर जान पाउँथे । दसैंभरि घरमै बसेर महान् चाडको रमाइलो मान्ने रहर नहुने कोही हुँदैन । यस्तो अवसर सबैलाई जुट्दैन । यसमा धेरैका फरक कारण हुन सक्छन् । काम, कामको प्रकृति र भौगोलिक दुरी मुख्य कारण भए मेरा लागि ।


घर काभ्रेको पाँखचाल । रोजगारी ललितपुरको पुल्चोक । दुरीका हिसाबले करिब ४२ किलोमिटर । समयका हिसाबले आफ्नै साधनमा एक घण्टा मात्रै पर । बिहान चियाँ पिउँदै आमालाई फोन गरेपछि म खाना खान घरमै पुग्थें १० नबज्दै ।

त्यति बेलाको खुशी हुने तरिका र उल्लास मान्ने बहाना अहिलेका दसैंसँग कहाँ हुनु ? अब ती केवल स्मृति मात्रै हुन् । जुन फेरि यो जीवनमा फर्केर आउने छैनन् । समय, उमेर र अवस्था परिवर्तनले हामीलाई धेरै टाढा लगिसक्यो । जुन अब फर्कन वा फर्काउन कहाँ सम्भव छ र ?

मेरो यही सहजताको फाइदा अरुलाई धेरै भयो । नजिकै छ, बिदा बस्न मिल्दैन भन्ने तर्कले म धेरै वर्ष पर्व बिदाको अवसरबाट बञ्चित भएँ । अरु सहकर्मी सरह चाडबाडको सुविधा मलाई मिलेन । राजधानीभित्रै घर हुने वा बस्ने केही सहकर्मी पनि मजस्तै हुन् ।


दसैंमा टिका थाप्न गए त्यही दिन कार्यालय फर्कनु पर्ने शर्त । भोलिपल्ट वा दोस्रो दिन गए एक रात बस्न पाइने । यसमा टाढाका सहकर्मीको कुरै भएन । दसैं मात्रै होइन तिहारको अवस्था पनि उस्तै ।


यो कान्तिपुर एफएममा ७ वर्ष काम गर्दाको चरण हो । रेडियोमा कामको प्रकृतिका कारण यस्तो हुन्थ्यो ।
‘आज घरघरमा बडादसैं धुमधामका साथ मनाईदैं’
‘उल्लास र उमंगका साथ मान्यजनबाट टीका र जमरा लगाइँदै’


यस्ता समाचार रेडियोमा पढ्दा आफ्नो निधार चाहिं खाली हुन्थ्यो । न उल्लास न उमङ्ग । कामलाई माया र सम्मान गर्ने मेरो प्रवृत्तिले होला, मलाई यस्ता कुराले धेरै दुःख चाहिं लाग्थेन । त्यसैले यस्ता कुरामा विवाद र नोकझोक गर्न मन लागेन पनि । मिलेसम्म पहल गर्ने नमिले ठीकै छ भन्ने स्वभावले जित्यो उतिबेला । यस्तै स्वभावले धेरै वर्ष घरमा बसेर चाडपर्व मान्न चाहिं सकिएन ।


‘नजिकै हो फुत्त जान र फर्केर आइहाल्न सकिन्छ’ भनेर सिमित घण्टा मात्रै छुट्टि हुन्थ्यो । कुनै वर्ष बढीमा एक वा दुई दिन बिदा मिल्यो होला ।
त्यतिबेला रोजगारी ठूलो कुरा लाग्थ्यो । त्यही ठूलो लाग्नुको कारण निरीह बनियो सायद् । बाध्यता भने पनि हुन्छ ।


दसैंका बेला गाउँ–घरमा मज्जाले नबसेको २५ वर्ष नाघे पनि स्मृतिमा ती क्षण सधैं नाचेकै हुन्छन् । गाउँ–घर छोडेर कलेज पढ्न राजधानी बस्नुपर्ने बाध्यता । राजधानीमा बस्न केही न केही रोजगारीमा अल्झनु पर्ने आवश्यकता ।

रोजगारीका शर्तले आफुखुशी बिदा र स्वतन्त्रता नपाउने विवशता । अनि राम्रो भविष्य खोज्दै विदेशिएको वर्तमान अवस्थासम्मको यो अवधिमा धेरै उतार चढाव आइरहे ।


यी यावत् चरणमा पहिलेका रमाइला दसैं खुब मिस हुन्छन् । अहिले फर्केर हेर्दा ती दसैं एकादेशको कथाझैं लाग्न थाल्छन् । अहिले उबेलाको दसैंको तुलना के गर्नु ? त्यो बालापन अनि किशोरावस्थाको कुरै बेग्लै थियो ।


त्यति बेलाको खुशी हुने तरिका र उल्लास मान्ने बहाना अहिलेका दसैंसँग कहाँ हुनु ? अब ती केवल स्मृति मात्रै हुन् । जुन फेरि यो जीवनमा फर्केर आउने छैनन् । समय, उमेर र अवस्था परिवर्तनले हामीलाई धेरै टाढा लगिसक्यो । जुन अब फर्कन वा फर्काउन कहाँ सम्भव छ र ?


पहिले काठमाडौं हुँदा पनि हरेक दसैंमा नजिकैको घर जान सकिएन । त्यो बेला भौगोलिक दुरी खासै धेरै थिएन । रोजगारीको प्रकृति अलिक बाधक थियो ।


कोरोनाकालको दसैं
यो पटकको दसैं भनिसाध्यै छैन । कोरोना महामारीले संसारभर कसैलाई छोडेको छैन । विश्वभर महामारीले लाखौंको ज्यान लिएको छ । करोडौं संक्रमित भइसकेका छन् ।

उपचार नहुने यो भाइरसको त्रास सर्वत्र व्याप्त छ । यो रोगले यसपल्ट दसैंको उल्लास र उमंग कसैमा छाउन दिएको छैन । आफ्नै परिवारभित्र समेत भौतिक दुरी कामय गरेर बस्नु पर्ने विवशता छ । यस्तोमा आफन्त र मित्रगण भेटघाट गर्न नपाई भर्जुअल दसैं मनाउनु पर्ने कठिन अवस्थामा हामी छौं ।


त्यसैले यो दसैंको कुरै नगरौं । स्वस्थ्य रह्यौं भने दसैं त आगामी सालहरुमा धुमधामसँग मनाउन सकिन्छ । अहिलेको प्राथमिकता सबैको स्वास्थ्य र जीवन सुरक्षा नै हो ।


बालपनको दसैं

ऊबेला दसैं आउनु हप्तादिन अघिदेखि गाउँमा लँगुरबूर्जा सुरु भइस्क्थ्यो । स्कुल छुटेपछि पान र ईंटमा यता १५, यता १० भन्दै पच्चीस पैसे ढ्याक खुब चलाइन्थ्यो । त्यो ढ्याकलाई पान र ईंटका दुई रेखाबीचमा राखेर लँगुरबूर्जा खेलेको खुब याद आइरहन्छ ।


त्यतिबेला दुई, तीन रुपैयाँको हारजितले खुशीको ब्यारो मिटरमा ठूलो तलमाथि पाथ्र्याे । जित्नेको चुरीफुरी बेग्लै हुन्थ्यो । हार्नेको मुहार दयालाग्दो बन्थ्यो ।


कहिले काहीं ५ वा १० पैसा पनि साथमा हुँदैनथ्यो । अरुको हेरेर खेलको धित मारिन्थ्यो । सुका वा मोहोर सापट लिएर खेल्ने मौका पाउँदा खुब भाग्यमानी ठानिन्थ्यो । त्यही सापटीबाट पाँच, सात रुपैयँ जितियो भने गाउँभर केटाकेटीमाझ चर्चाको पात्र भइन्थ्यो ।


दसैंदेखि तिहारसम्म झण्डै एक महिने बिदा हाम्रो लागि छेलोखेलो हुन्थ्यो । लँगुरबूर्जा मात्र होइन । गुच्चा र चुँग्गी खेल्ने छुट्टै ग्रुप थिए । रमेश, दिनेश, महेश, अञ्जन, दामोदर लगायतका साथीभाई लँगुरबूर्जा र गुच्चाका दौतरी थिए । खेल्नलाई निश्चित समय र ठाउँ नै चाहिंन्नथ्यो ।


बिहानदेखि खेल्यो । दिउसै खेल्यो । झमक्क साँझ पर्दासम्मै खेल्यो । खेल्दा खेल्दै भोक लागे खुर्ररर दौडेर घर गयो । हतार हतार खाना वा खाजा खायो । मासु चपाउंदै खेल्न कुद्ने त्यो अनौठो बालापन थियो । स्कुल जानु नपर्ने नहुनाले पढाई र होमवर्कको चिन्ता पटक्कै थिएन । नयाँ लुगा र चुत्ता, चप्पलको बासना शरीरभरी बसेकै हुन्थ्यो ।


आ आफ्नो हैसियतअनुसार गाउँको रमाइलो र घरायसी वातावरणमा दसैं सबैको मनमोहक हुन्थ्यो । केटाकेटीका लागि त चिताएको पुग्ने बेला थियो त्यो । खान र लाउनमा आफ्नो रोजाई र ढिपीले धेरै कुरा पुग्थ्यो ।


टिका लगाएर दक्षिणा पाउने क्रम घरबाटै सुरु हुन्थ्यो । मामाघर र बुढो मामाघरसम्म पुग्दा दक्षिणा बढेर ४०, ५० रुपैयाँ पुग्थ्यो । कट्कटे नयाँ नोटका त्यति धेरै पैसा हुँदा दसैं उत्पातकै हुन्थ्यो । कसको धेरै भनेर एक अर्काेलाई देखाउने होडको अर्काे मज्जा थियो ।


त्यो पैसाको योजना र काम धेरै हुन्थे । पर्स किन्ने, बेल्ट किन्ने, साइकल सिक्ने, नयाँ नोट कपी किन्ने, बनेपा गएर नयाँ फिल्म हेर्ने, कामना र मनोकामनाजस्ता फिल्मी म्यागेजिन किनेर पढ्ने यस्तै कुरामा पैसा सकिन्थे ।


स्कुल बिदा त दिनदिनै लँगुरबूर्जा, गुच्चा, पिङ, डण्डिबियो, छाकैपिच्छे मासु, अनि टिका र दक्षिणासम्म पुगेर सकिएको पत्तै हुँदैनथ्यो । दसैंको माहोलले पुरै जीवन हराभरा भएझैं लाग्थ्यो । यो थियो बाबुआमाको छत्रछायाँमा रमाएर बाँचेको किशोरावस्थासम्मको एउटा चरण ।

त्यसपछि पोखरामा पाँच वर्ष बडो आनन्दमय बित्यो । पहिलेभन्दा भौगोलिक दुरी पाँच गुणाले बढ्यो । थप केही व्यवहारिक अवरोध अगाडि आए । पोखरा हुँदा छोटो अवधिका लागि दसैंमा दुईपल्ट घर पुग्न सकियो ।


पछिल्लो सात वर्षयता अमेरिका बस्दाका अनुभूति बेग्लै हुन् । नेपालबाट बुबाआमा तीनपल्ट अमेरिका आउँदा ती दसैं घर गएरै मानेझैं रमाइलो भयो । यता सधैं समय अभाव । परिवारका सबैको बिदा मिलाउन हम्मेहम्मे । यद्यपी एकपल्ट दसैं मान्न नेपाल जाने अवसर मिल्यो ।


दुई वर्षअघि अष्टमीको दिन नेपाल उत्रिंदा दसैंले काठमाडौं सुनसान देखिन्थ्यो । तिहारमा भाईटीकाको दिन काठमाडौं छोड्दा पनि लगभग उस्तै शान्त थियो । पुग्ने र फर्कने बीचको व्यस्त तालिकाले त्यो दसैं मात्र नभएर एक रोमाञ्चक यात्रा समेत थियो भन्न सकिन्छ ।


दसैंलगत्तै सौराहा, लुम्बिनी अनि पोखरा भ्रमण । फेरि तिहारको रमझम । आफन्त भेटभाटको दौडाहा । किनमेलको चटारो । अनि फर्कने हतारो ।

स्कुल सकेर कलेज पढ्न काठमाडौं गएपछि जीवनले अर्काे कोल्टे नफेरि सुखै थिएन । आफ्नो पढाईसँगै काम, हरहिसाब, लेनादेना आफैं गर्नुको विकल्प थिएन ।


रोजीरोटीको अल्झोमा पहिलेका स्वतन्त्रता र स्वच्छन्दतामाथि अंकुश लागेको पत्तै भएन । आफुखुशी चल्न र हिंड्न नपाउने बाध्यताको क्रम पदीय जिम्मेवारीसँगै थपिनु स्वभाविक थिए । अझ पारिवारीक जिम्मेवारी थपिएपछि अरु के के स्वभाविक चरणहरु थपिए भनिसाध्यै भएन ।


१७ वर्षको उमेरमा घर छोडेर हिंडेको म । त्यसपछि जीवनका गोरेटाहरु आफुले चाहेजस्तो सोझो मात्रै भएन । बक्ररेखा जस्ता बाँङ्गा टिंङ्गा हुँदै गए । सोचेजस्तो सरल र सोझारेखा हुने भए मानिसका अनगिन्ती दुःखका कथा किन लेखिन्थे होला र ?

मानिस त तिनै गोरेटाका साक्षी मात्र न हुन् ।

दसैं २०७७ को शुभकामना !

प्रकाशित मिति कात्तिक ८, २०७७

Leave a Reply