अमेरिकामा दोस्रो कम्पनी मोडेर्नाको खोप स्वीकृत

लेख, लेख

बोस्टन, अमेरिका
डिसेम्बर १८, २०२०

अमेरिकी खाद्य तथा औषधी प्रशासन एफडीएले शुक्रबार साँझ मोडेर्ना कम्पनीको खोपलाई कोरोना भाइरसविरुद्ध प्रयोग गर्न स्वीकृत गरेको छ । एफडीए सल्लाहकार प्यानलले हिजो बिहीबार खोप स्वीकृतिका लागि प्रशासनसमक्ष सिफारिस गरेको थियो ।

यो अमेरिकामा प्रयोग अनुमति पाउने दोस्रो खोप हो । फाइजरको खोप गत शुक्रबार स्वीकृत भएको थियो । यी दुवै खोप हाल आपतकालिन प्रयोगका लागि स्वीकृत भएका हुन् । आम सर्वसाधारणका लागि होइनन् ।

मोडेर्नाले खोप स्वीकृत पाएलगत्तै ठूलो मात्रामा खोप ढुवानी गर्न तयार रहेको जनाइसकेको छ । यो खोप आगामी सोमबारबाट अमेरिकामा प्रयोगमा आउने अपेक्षा गरिएको छ ।

मोडेर्नाले ६० लाख डोज खोप तत्काल उपलब्ध गराउन सकिने बताएको छ । अमेरिकाले मोडेर्नासँग २० करोड डोज खोप किन्न अग्रिम भुक्तानी गरिसकेको छ । यसका साथै मोडेर्नासँग थप खोप किन्ने प्रक्रिया अघि बढाएको छ । अमेरिकामा आगामी अप्रिलसम्म ५ करोड मानिसमा खोप लगाउने योजना छ ।

मोडेर्नाको खोप माइनस २० डिग्री सेन्टिग्रेड र फाइजरको खोप माइनस ७५ डिग्री सेन्टिग्रेडको आसपासमा भण्डारण गर्नुपर्छ । फाइजरको दोस्रो खोप २१ दिन र मोडेर्नाको दोस्रो खोप २८ दिनमा लगाउनु पर्छ ।

फाइजरको खोप गत सोमबारबाट अमेरिकाका विभिन्न राज्यस्थित अस्पतालहरुमा लगाउन थालिएको छ । स्वास्थ्यकर्मी र कोरोनाका सिकिस्त बिरामीलाई सुरुमा यस्तो खोप लगाउने काम भइरहेको छ ।

आजै अमेरिकी उपराष्ट्रपति माइक पेन्स र सिनेटकी सभामुख न्यान्सी पेलोसीले फाइजरको खोप लगाएका छन् । उनीहरुले दोस्रो खोप अबको तीन सातामा लगाउने छन् । उपराष्ट्रपति पेन्सले बिहान ह्वाइट हाउसमा र सभामुख पेलोसीले दिउसो क्यापिटल हिलमा खोप लगाएका हुन् ।

कोरोना भाइरस विरुद्धको खोप लगाउने उनीहरु दुवै अहिलेसम्मका उच्च राजनीतिज्ञ एवं सरकारी अधिकारी हुन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पनि आगामी केही दिनभित्र खोप लगाउने खबर सार्वजनिक भएको छ ।

वर्तमान राष्ट्रपति डोनाल्ट ट्रम्पले पनि उनको स्वास्थ्य टोलीको परामर्शपछि केही समयमा यो खोप लगाउने बताइएको छ । आममानिसमा खोपप्रति विश्वासको सन्देश दिन उच्च पदस्थहरुले खोप लगाएर देखाउनु पर्ने सुझाब विशेषज्ञहरुले दिंदै आएका छन् ।

मोडेर्नाको खोपलाई अमेरिकामा सबैभन्दा बढी प्रयोगमा आउने खोपका रुपमा लिइएको छ । यो खोपको उच्च माग अमेरिकासहित यूरोप लगायत अन्य मुलुकहरुमा छ । फाइजरको तुलनामा कम चिस्याउन राख्न मिल्ने विशेषताका कारण यो खोप बढी प्रचलनमा आउने अपेक्षा छ ।

फाइजर र मोडेर्ना खोपका केही फरक । स्रोत : बीबीसी

यी दुवै खोप ९५ प्रतिशत प्रभावकारी र सुरक्षित छन् । यद्यपी सामान्य साइड इफेक्ट हुने बताइएको छ । हाल फाइजरको खोप लगाउनेहरुमा ज्वरो आउने, टाउको र जीउ दुख्ने लगायतका साइड इफेक्ट देखिएको छ ।

मोडेर्नाको खोप माइनस २० डिग्री सेन्टिग्रेड र फाइजरको खोप माइनस ७५ डिग्री सेन्टिग्रेडको आसपासमा भण्डारण गर्नुपर्छ । फाइजरको दोस्रो खोप २१ दिन र मोडेर्नाको दोस्रो खोप २८ दिनमा लगाउनु पर्छ ।

प्रकाशित मिति : डिसेम्बर १८, २०२०

Leave a Reply