आजबाट अमेरिका ४६ औं पृष्ठमा, बाइडेन र ह्यारिसको सपथ ग्रहण

खबर, लेख, लेख

मनोज अधिकारी

बोस्टन, अमेरिका
जनवरी २०, २०२१

डेमोक्रेटिक दलका जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा पदभार ग्रहण गरेका छन् । क्यापिटल हिल प्रांगणमा बुधबार मध्यान्ह आयोजित भव्य सपथ ग्रहण समारोहलगत्तै बाइडेनले राष्ट्रपतिका रुपमा ह्वाइट हाउसको कमाण्ड सम्हालेका हुन् ।

बाइडेनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराए । बाइडेनसँगै कमला ह्यारिसले इतिहास रच्दै उपराष्ट्रपतिको सपथ लिएकी छन् । उनी अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति हुन् । उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन् ।

सपथ ग्रहण समारोहमा बाइडेनले यो दिन अमेरिकाको लागि इतिहास र आशाको दिन रहेको बताए । उनले आफू सबैको राष्ट्रपति बन्ने प्रतिबद्धता जनाए । उनले अहिले अमेरिकाले सामना गरिरहेको समस्या सबै मिलेर समाधान गर्ने बताए । उनले संविधान, प्रजातान्त्रिक पद्धति र अमेरिकाको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

राष्ट्रपति बाइडेनले पदभार ग्रहण गरेकै दिन एक दर्जनभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । तीमध्ये केही डोनाल्ड ट्रम्पका गलत नीति र आदेशहरु उल्ट्याउने महत्पूर्ण आदेशहरु छन् ।

बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनका लागि सम्पूर्ण संघीय कार्यालयहरुमा अनिवार्य मास्क लगाउनु पर्ने आदेशमा हस्ताक्षर गरेका छन् । यस्तै विश्व स्वास्थ्य संगठनमा पुनःआवद्ध हुने उनको अर्काे महत्वपूर्ण कार्यकारी आदेश छ । ट्रम्पले केही महिनाअघि विश्व स्वास्थ्य संगठनलाई दिंदै आएको रकम रोक्दै यसबाट अलग भएका थिए ।

बाइडेनले आजै जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा पुनः जोडिने कार्यकारी आदेशमा हस्ताक्षर गरे । यो पनि ट्रम्पको आदेश उल्ट्याउने निर्णय हो । यस्तै मुस्लिम मुलुकहरुमाथिको यात्रा प्रतिबन्धलाई पनि बाइडेनले फुकुवा गरिदिएका छन् ।

बाइडेनको विगत

डेलावर राज्यबाट पाँच दशकदेखि सिनेटर रहेका बाइडेन यसअघि बाराक ओबामा राष्ट्रपति हुँदा दुई कार्यकाल उपराष्ट्रपति थिए । असल आचरण र कुशल प्रशासकका रुपमा स्थापित बाइडेनको कार्यकालमा अमेरिकाले सुखद् भविष्यको मार्ग प्रसस्त गर्ने आम अपेक्षा छ ।

कुनै बेला अमेरिकी सिनेटमै सबैभन्दा कान्छो सिनेटरको रेकर्ड बनाएका बाइडेन अहिले अमेरिकी इतिहासमै सबैभन्दा जेठो राष्ट्रपतिका रुपमा सत्ताको नेतृत्वमा पुगेका छन् । बाइडेन सन् १९७२ मा २९ वर्षको उमेरमा सिनेटर निर्वाचित भएका थिए । अहिले उनी ७८ वर्षका छन् ।

आजै पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसको उदय भएको छ । क्यालिफोर्निया राज्यकी सिनेटर (गत सोमबार राजीनामा दिएकी) ह्यारिस जमैकन बाबु र इण्डियन आमाकी सन्तान हुन् ।

अफ्रिकन-एशिएन महिलाको पहिचान पाएकी कमला ह्यारिसमा सिंगो अमेरिकाले भावी महिला राष्ट्रपतिको सम्भावना समेत देखेको छ । आगामी दिनमा उनको कार्यशैली र कुशलताबाट यसको दिशानिर्देश हुनेछ ।


४५ औं पृष्ठको कन्तबिजोक


अमेरिकी इतिहासमा यसको ४५ औं पृष्ठ निकै विवादास्पद र विभाजनकारी रंगमा लतपतिएर अन्त्य भयो । डोनाल्ड ट्रम्पका विभेद तथा विभाजनकारी कार्यशैली, दम्भ र अहंकारयुक्त दृष्टि, असहिष्णु र दमनकारी नीतिका कारण उनको यो कार्यकाल अमेरिकाले लगभग चयनमा बिताउन पाएन ।

विश्व राजनीतिदेखि कुटनीतिसम्म ट्रम्पका एकलकाटे सोच र नीतिले अमेरिकाप्रति विश्व जगतको नजर राम्रो बन्न सकेन । आफ्नै मुलुकभित्र पनि ट्रम्पले आपसी द्धेष र घृणा फैलाउने पर्याप्त प्रयास गरे ।

विशेषगरी आप्रबासीप्रति ट्रम्प सधैं अनुदार मात्रै रहेनन् उनले तुच्छ शब्दहरु समेत बारबार प्रयोग गरे । ट्रम्प स्वयंमले आफु आप्रबासीको सन्तान भन्ने बिर्सिए ।

दोस्रो कार्यकालका लागि गत नोभेम्बर भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भए । चार वर्षअघि हिलारी क्लिन्टनलाई २३२ इलेक्टोरल कलेज मतमा सिमित गर्दै ३०६ मत ल्याएर अविश्वसनीय जित हात पारेका ट्रम्प अहिले त्यही मत अन्तरले आफु पराजित भए ।

तर ट्रम्पले आफ्नो हारलाई स्वीकार गर्नै सकेनन् । सधैं कुण्ठा र दम्भमा बाँचेका ट्रम्पले सायद् यो हारलाई व्यक्तिगत इगोका रुपमा लिए ।

निर्वाचनको नतिजा आफ्नो पक्षमा नआउने देखेपछि उनले सुरुवातबाटै चुनावमा धाँधली, चोरी र गडबडी भएको आरोप लगाइरहे । आफुले जितेको निर्वाचन अरुले चोरेको भन्नेजस्ता निराधार आरोपलाई उनले राजनीतिक हरुवाको छेरुवा दाउका रुपमा आफ्ना समर्थक र कार्यकार्यमाझ फैलाउन अहोरात्र समय खर्चिए ।

कैयन् राज्य तथा काउन्टीहरुमा उनले पुनः मतगणनाका लागि दवाव दिए र कतै उजुरी हाले । नतिजा बदलिएन । उनी मातहतकै महान्यायाधिवक्ताको कार्यालयले इतिहासमै सबैभन्दा सुरक्षित र पारदर्शी निर्वाचन भएको आन्तरिक छानबिनको निश्कर्ष सार्वजनिक गर्याे ।

निर्वाचन परिणामलाई चुनौती दिंदै राज्यस्तरदेखि संघीय अदालतसम्म उनले ६० भन्दा बढी मुद्धा दायर गरे । उनले कुनै एक ठाउँको निर्वाचनमा कुनै गडबडी भएको प्रमाण कतै देखाउन सकेनन् ।

सबै मुद्धामा उनी पछारिए । अदालतबाट कैयन् मुद्धा खारेज भए । कतिपय मुद्धा सुरुवातमै अस्वीकृत भए । केही मुद्धा प्रमाणबीनाको झुटो आरोपका रुपमा फिर्ता गरिए । अन्ततः निर्वाचनमा पराजित भएका ट्रम्पको अदालतबाट नतिजा उल्ट्याउने सपना पुरा भएन ।

त्यत्तिले पनि ट्रम्प थामिएनन् । उनले आफ्नो उग्र समर्थकलाई उचाल्दै हप्तैपिच्छे नारा, जुलुस गराए । यसका लागि सामाजिक सञ्जालको व्यापक दुरुपयोग जारी राखे । तिनै उग्र समर्थकबाट अमेरिकी संसद भवनमा आक्रमण गराउन समेत उनले भूमिका खेले ।

उनको सन्काहा प्रवृति झन् उम्लेर आयो । जनवरी ६ मा उनले आफु जस्तै सन्काहा र उग्र विचारधाराका समर्थकको हुललाई क्यापिटल हिलमा प्रवेश गराएर आतंक सृजना गरे ।

जहाँ नवनिर्वाचित राष्ट्रपति जो बाइडेको जितलाई सिनेटले प्रमाणिकरण गर्ने प्रक्रिया भर्खरै सुरु भएको थियो । उक्त घटनामा पाँच जनाको ज्यान समेत गयो । जुन घटना अमेरिकी इतिहासको ४५ औं पृष्ठमा कालो दिनका रुपमा चित्रित हुने नै छ ।

यति मात्रै होइन प्रजातन्त्र, विधीको शासन र कानूनी राजको विरुद्धमा गरिएको त्यो धावा पनि हो । अन्ततः ट्वीटर, फेसबुक, इन्स्टाग्राम, स्न्यापचाट, युट्यूव लगायत सबै सामाजिक सञ्जालहरुले ट्रम्पका खातामाथि प्रतिबन्ध लगाए । उनका कैयन् सामग्रीहरु डिलिट गरिदिए ।

क्यापिटल हिल आक्रमणको परिणामस्वरुप ट्रम्पले तत्कालै ससंदको तल्लो सदन हाउसबाट महाअभियोगको दण्ड समेत पाइसके । यही उदण्डताका कारण ट्रम्पको अनुहारमा अमेरिकी इतिहासमा दुईपल्ट महाअभियोग खेप्ने राष्ट्रपति भनेर कहिल्यै नमेटिने दाग पोतियो । उक्त महाअभियोगलाई निकट भविष्यमा सिनेटमा पेश गर्ने प्रक्रिया अझै बाँकी छ ।

पूर्ववर्ती राष्ट्रपतिहरुको दुई कार्यकालको प्रचलनमा पर्न असफल भएपछि ट्रम्प अन्ततः हारेको स्यालझैं चार वर्षमै ह्वाइट हाउस छोडेर फ्लोरिडा लागेका छन् । उनी झण्डै तीन दशकपछिको यस्तो राष्ट्रपति भए जो एक कार्यकालमै ह्वाइट हाउसबाट आफैं निक्लेर जान बाध्य भए ।

ट्रम्पले चुनावमा धाँधली गरेर आफूलाई हराइएको दाबीसहित परिणाम अस्वीकार गर्दै आए पनि बाइडेनले पदभार ग्रहण गर्ने दिन बिहानै राष्ट्रपति कार्यालय र डिसी छाडेका हुन् । ट्रम्पले ऐतिहासिक संस्कार विधि समेत लत्याए ।

(AP Photo/Manuel Balce Ceneta)

बाइडेनले पछिल्लो २८ वर्षपछि पहिलोपटक राष्ट्रपतिलाई पहिलो कार्यकालपछि नै घर पठाएदिए । ट्रम्प आजको सपथ ग्रहण समारोहमा सहभागी नभई केही घण्टाअघि नै डिसी छोडेर गए ।

आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन्। पछिल्लो १५० वर्षयता नयाँ राष्ट्रपतिको सपथ ग्रहणमा उपस्थित नहुने ट्रम्प पहिलो राष्ट्रपति हुन् । उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित भए ।

यस्तै जिवित पूर्व राष्ट्रपतिहरुमध्ये बाराक ओबामा दम्पति, जर्ज डब्ल्यू बुश दम्पति र बिल क्लिन्टन दम्पति उपस्थित भए । जिमी कार्टर निकै बृद्ध अवस्थाका कारण हिंड्न समस्या भएकाले उपस्थित भएनन् ।

ट्रम्पले आफुले सत्ता छोड्दा कैयन् गलत कार्य र प्रवृति मात्रै छोडेका छैनन् अमेरिकी जनताबीच विभाजनको रेखा कोरेर इतिहासकै अँध्यारो र गम्भिर क्षणमा पुर्याएर छोडेका छन् ।

आफुपछिको नयाँ राष्ट्रपतिलाई औपचारिक समारोहमा उपस्थित भई सत्ता हस्तान्तरण समेत नगरि लुसुक्क सत्ता छोडेर हिंड्नु पर्ने परिस्थिति ट्रम्प स्वयंम्ले सृजना गरेका हुन् । जसको बिदाईमा उनकै क्याबिनेटका उपराष्ट्रपति माइक पेन्सदेखि अन्य वरिष्ठ अधिकारीहरु समेत देखा परेनन् ।

उनकै पार्टी रिपब्लिकनका शीर्ष नेताहरुले समेत अन्तिम क्षणमा ट्रम्पप्रति बेवास्ता र घृणा देखाए । क्यापिटल हिलमाथि दंगा गराउन स्वयंम् ट्रम्पनै मुख्य कारण भएको भन्दै चोर औंला समेत ठड्याए ।

ट्रम्पले चार वर्षे अवधिमा गरेका कतिपय गलत कार्यका साथै उनको व्यक्तिगत र व्यवसायीक आचरणविरुद्ध आगामी दिनमा धेरै पर्दा खुल्ने अपेक्षा छ । उनीमाथि कैयन् मुद्धाहरु अदालतको ढोका कुरेर बसेका छन् । जनु आगामी दिनमा पर्दा खोलेर दृश्यमा आउने छन् ।

प्रकाशित मिति : जनवरी २०, २०२१

Leave a Reply