ओहायोमा कार दुर्घटनामा परि नेपाली युवा गम्भीर घाइते, सहयोगको अपिल

खबर

अमेरिका, बोस्टन
मार्च २९, २०२१


अमेरिकाको ओहायो राज्यमा कार दुर्घटनामा परी एक नेपाली युवा गम्भीर घाइते भएका छन् । ओहायो स्टेट यूनिभर्सिटीमा अध्ययनरत २४ वर्षिय सुबिन बास्तोला मार्च १८ मा कार दुर्घटनामा परेका हुन् । हाल उनको स्थानीय माउण्ट कार्मेल इस्ट अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ ।

उनको टाउकोमा चोट छ भने फोक्सो समेत च्यापिएको अवस्थामा छ । साथै दुवै खुट्टा र एक हात भाँचिएको अस्पतालले जनाएको छ । हालसम्म अचेत रहेका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

सुबिन बास्तोला

भक्तपुर स्थायी घर भएका सुबिन बाबुआमा र एक बहिनीसँगै ओहायो, ब्ल्याकलिकमा बस्छन् । छोरा दुर्घटनामा परेदेखि बाबुआमा काम छोडेर अस्पताल धाइरहेका छन् । सुबिन पढाईसँगै काम पनि गर्दै आएका छन् । उक्त दिन उनी कलेजबाट कामतर्फ जाने क्रममा कार दुर्घटनामा परेका हुन् । विपरित दिशाबाट आएको अर्काे कारले लेन क्रस गरेर सुबिनको कारमा ठक्कर दिएको थियो ।


त्यस क्रममा अरु चारवटा गाडी दुर्घटनामा पर्दा पाँचजना घाइते भए । घटनास्थलको अध्ययन र अन्य प्रमाण हेरेपछि प्रहरीले दुर्घटनामा बास्तोलाको कुनै गल्ती नरहेको रिपोर्ट सार्वजनिक गरेको छ । दुर्घटना गराउने १८ वर्षे चालकले आफ्नी आमाको कार चलाएको पाइएको छ । उनको अवस्थामा पनि गम्भीर छ । सोही दुर्घटनामा पर्नेमध्ये एकजनाको केही दिनअघि मृत्यु भयो भने अर्का एकजना गम्भीर घाइते छन् ।

दुर्घटना अवस्थाको दृश्य : ओहायो प्रहरी

सहयोगको आग्रह

दुर्घटनामा घाइते बास्तोलाको उपचार तथा परिवारको सहयोगका लागि गोफण्डमीमार्फत् आफन्तजनले आर्थिक संकलन सुरु गरेका छन् । बाबु सुदर्शन बास्तोलाकातर्फबाट किरण संग्रौलाले सुरु गरेको गोफण्डमीमा सबैलाई सक्दो सहयोगको अपिल गरिएको छ । ४० हजार डलर लक्ष्यसहित आइतबार सुरु गरिएको गोफण्डमीमार्फत् हालसम्म करिब २० हजार डलर संकलन भएको छ ।

यो लिंकमा गएर सहयोग गर्न सक्नु हुनेछ ।

परिवार, आफन्तजन र स्थानीय नेपाली समुदायमा अत्यन्त मिलनसार, मेहनती र शालिन स्वभावका सुबिन ओहायो स्टेट यूनिभर्सिटीमा सेक्यूरिटी एण्ड इन्टेलिजेन्स विषयमा अध्ययनरत विद्यार्थी हुन् । उनी आगामी डिसेम्बरमा ग्राजुएट हुने तयारीमा थिए ।


मेहनती अनि आत्मिय स्वभाव र मिलनसार प्रकृतिका नेपाली युवा सुबिनको शिघ्र स्वास्थ्यलाभको कामना ।

प्रकाशित मिति : मार्च २९, २०२१

Leave a Reply