घान्द्रुकको आकर्षण ‘ढुंगाका घर’

खबर, लेख, लेख

मनोज अधिकारी


‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस्….’

गीतकार कालीप्रसाद रिजालले यो गीत घान्द्रुकमै बसेर लेखेजस्तो लाग्छ । कास्कीको उत्तरपश्चिमी गाउँ घान्द्रुकमा बिहान हिमाल हेरेर मात्रै हरेकको दैनिकी सुरु हुन्छ । घान्द्रुकमा रात बस्ने गरि जाने भोलिपल्ट बिहान उठ्नेबित्तिकै देख्ने पहिलो दृश्यनै आँखै अगाडि उभिएका मनमोहक माछापुच्छे« र अन्नपूर्णका सुन्दर श्रृंखला हुन् ।

हात लम्काउँदा छुइन्छ कि झैं लाग्ने आकर्षक हिमालले सिंगो पोखराको मात्रै सुन्दरता बढाएको छैन । पोखरा आसपासका क्षेत्र अथवा घान्द्रुकसम्मै वर्षेनी हजारौं स्वदेशी÷विदेशी पर्यटकलाई डो¥याएको हुन्छ । घान्द्रुक आफैंमा छोटो दुरीको ट्रेकिङ गर्न चाहनेका लागि आकर्षक गन्तव्य हो । अनि अन्नपूर्ण आधार पदयात्रा गर्नेहरुको एउटा सुन्दर विश्रामस्थल पनि हो । घान्द्रुक अझ यतिमा मात्र पनि सिमित छैन ।

ढुंगैढुंगाले बनेका कलात्मक घरहरु घान्द्रुकको अर्काे प्रमुख आकर्षण हो । यहाँ चार÷पाँच सयवर्ष पुराना ढुंगे घरहरु अझै उस्तै छन् । पुराना पुस्ता मात्र होइन छोरा–नातिका पुस्ताले बनाएका घरहरु पनि पुरानै स्वरुपका छन् । हाल आएर केही व्यवसायीले आधुनिक शैलीका घरहरु बनाउन थालेको देखिन्छ ।

यद्यपि यहाँका अधिकाँश घर र सिंगो बस्तीमा ढुंगाकै गारो, ढुंगाकै छानो, ढुंगाकै पाली, ढुंगाकै आँगन, ढुंगाकै पेटी, ढुंगाकै बाटो, ढुंगाकै पर्खाल, ढुंगाकै चौतारो, ढुंगाकै गोरेटो–घोडेटो छन् । जताजतै ढुंगैढुंगा देख्दा एकपटक जोकोही अचम्म मान्छन् । यति मात्र होइन घान्द्रुक सफा सुग्घरमा पनि निकै आकर्षक लाग्छ । कतै धुलोमैलो देखिन्न, बाटोघाटोका ढुंगा पनि सधैं धोइपखाले गरेजस्ता सुकिला लाग्छन् ।

पीतापुर्खाले ढुंगैढुंगाबाट बनाएका मौलिक घरलाई यहाँका गुरुङ समुदायले आजसम्म उत्तिकै जीवन्त राख्ने प्रयास गरेका छन् । घान्द्रकुमा अहिले पनि घर बनाउँदा ढुंगाकै र पुरानो स्वरुपकै बनाउनु पर्ने स्थापित मापदण्ड छ । यही मापदण्डका कारण घान्दु्रक मुलुकमै मौलिक ढाँचाका घरहरु भएको सुन्दर गाउँका रुपमा चिनिन्छ ।

गुरुङ सुमदायको बाहुल्य रहेको यो गाउँ पर्यटकीय आकर्षक भएकैले यसको प्रमुख आयस्रोत पनि पर्यटन नै हो । यो ‘गुरुङ कल्चर भिलेज’का रुपमा पनि परिचित छ । घान्द्रुकमा करिब छ सय यस्ता घर छन् । तीमध्ये स्याउली बजारदेखि अन्नपूर्ण आधार शिविरसम्म पर्यटक लक्षित दर्जनौं होटल छन् ।

(सन् २००९ को अप्रिलमा लेखेको घान्द्रुक सम्बन्धी सामग्रीको सम्पादित अंश ।)

फाइल तस्विर : मनोज अधिकारी

Leave a Reply