अमेरिकाको जनसंख्या ३३ करोड १४ लाख, बृद्धिदर ७.४ %

खबर, लेख, लेख

मनोज अधिकारी

बोस्टन, (अमेरिका)

अमेरिकी सेन्सस ब्यूरोले दश वर्षे जनगणनाको नतिजा सार्वजनिक गरेको छ । हरेक दश वर्षमा हुने जनगणनाअन्तर्गत गत वर्ष अर्थात् सन् २०२० गत गरिएको जनगणनाको प्रारम्भिक नतिजा सोमबार सार्वजनिक गरिएको हो ।


जसअनुसार अमेरिकोको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार पुगेको छ । यो पछिल्लो दशक अर्थात् सन् २०१० को जनगणनाभन्दा थोरै मात्र बढी हो ।

ब्यूरोकाअनुसार पछिल्ला एक दशकमा अमेरिकाको जनगणना बृद्धि दर ७.४ प्रतिशत छ । यो अमेरिकी इतिहासमै दोश्रो कम बृद्धि हो । सन् २०१० को जनगणनामा त्यो दशकको बृद्धि दर ९.७ प्रतिशत थियो ।

सन् २०१० को जनगणनामा अमेरिकाको कुल जनसंख्या ३० करोड ८७ लाख ४५ हजार थियो । विवरणअनुसार पछिल्लो एक दशकमा अमेरिकामा २ करोड २७ लाख जनसंख्या बढेको देखिएको छ ।

यसपटक पनि क्यालिफोर्निया पहिलेझैं सबैभन्दा धेरै जनसंख्या भएको राज्य बनेको छ । त्यसपछि क्रमशः टेक्सस, फ्लोरिडा, न्यूयोर्क धेरै जनसंख्या भएका राज्य हुन् ।

जनगणनामा सन् २०२० को अप्रिल १ सम्म अमेरिकाभित्र बसेका जो कोहीको संख्या गणना गरिएको थियो । कोरोना महामारीको मध्य चपेटामा परेका बेला गत वर्ष अमेरिकाभर जनगणना सम्पन्न गरिएको थियो ।

जगणनामा सहभागी हुन छनोटका धेरै विकल्प उपलब्ध गराइएको थियो । ब्यूरोले पत्रमार्फत् आफ्नो विवरण पठाएर, अनलाईन फर्म भेरर, फोन गरेर वा घरमा आइपुग्ने गणकलाई आफ्नो विवरण टिपाएर जनगणनामा सहभागी गराउने अवसर दिएको थियो । गणकहरुले घरदैलोमा जाँदा अमेरिकी इतिहासमै पहिलोपल्ट इलेक्ट्रोनिक डिभाइस प्रयोग गरेर विवरण संकलन गरेका थिए ।

राजनीतिक अर्थ

यो जनगणनाले अमेरिकी राजनीतिको भविष्य समेत झल्काउने ठानिएको छ । जनसंख्याको उतारचढावसँगै राज्यहरुले पाउने सांसद संख्यामा फेरबदल आउने छ । यसले अमेरिकी संसदको तल्लो सदनमा राज्यहरुबाट प्रतिनिधित्व गर्ने सदस्यको संख्या बदल्नेछ ।

जस्तै : नयाँ विवरणअनुसार जनसंख्या बृद्धिका हिसाबले टेक्सस राज्यमा दुई प्रतिनिधि संख्या बढ्ने भएको छ । यस्तै नर्थ क्यारोलिना, ओरेगन, फ्लोरिडा, कोलोराडो र मोन्टानाले थप एक एक प्रतिनिधि थपिने छन् । उता जनसंख्यामा भएको कटौतीका कारण क्यालिफोर्निया, पेन्सिल्भेनिया, ओहायो, इलनोय, न्यूयोर्क, मिचिगन र वेस्ट भर्जिनिया राज्य भने एक एक सदस्य संख्या कटौतीमा पर्नेछन् ।

जस्तो अर्काे वर्ष सन् २०२२ मा हुने तल्लो सदनका प्रतिनिधिहरुको चयनका लागि हुने निर्वाचनमा यसको प्रभाव देखिने छ ।

Leave a Reply