समता साँझको रमाइलो (फोटो फिचर)

खबर, दृश्य, लेख, लेख

मनोज अधिकारी

बोस्टन, अमेरिका
नोभेम्वर १५

नेपालका ७७ जिल्लामा मात्रै एक सय रुपैयाँ मासिक शुल्क लिएर नर्सरीदेखि एमए, एमबीएसम्म पढाई हुने समता स्कुलको सहयोगार्थ अमेरिकाका विभिन्न सहरमा सांगीतिक कार्यक्रम चलिरहेको छ ।

हरिवंश आचार्य आफ्नो प्रस्तुति दिंदै

यसैअन्तर्गत गत आइतबार बोस्टन नजिकै आर्लिङ्टन सिटीमा एक भव्य कार्यक्रम भएको छ । नेपालबाट आएका दिग्गज कालाकार र स्थानीय कलाकारले आ-आफ्नो प्रस्तुति दिएर भरपुर मनोरञ्जन दिए ।


आइतबार अरु दिनभन्दा जाडो निकै बढेको थियो । आकाश पनि धुम्मिएको थियो । तथापि नेपाली गीत, संगीतलाई माया गर्ने र नेपाली कला र कलाकारलाई सम्मान गर्ने नेपालीभाषीहरु सयौंको संख्यामा कार्यक्रममा उपस्थित भए ।

उपस्थित दर्शक


ग्लोबल समता सिनेटद्धारा आयोजित कार्यक्रम साँझ ७ बजे सुरु भई राति झण्डै ११ बजेसम्म चलेको थियो । कार्यक्रममा समता स्कुलसम्बन्धी सानो डकुमेन्टी समेत प्रस्तुत गरिएको थियो ।


कार्यक्रमको सुरुवातमा बोस्टनमै हुर्के-बढेका नेपाली किशोरहरुको एभेरष्ट ब्याण्डले मन्त्रमुग्ध पार्ने वाद्यवादन प्रस्तुत गरेका थिए । गीतार, सारंगी, पियानो, मादल लगायतका वाद्यवादनमार्फत् उनीहरुले विभिन्न नेपाली संगीतको धुन बजाउँदा हलले तालीमार्फत् साथ दिएको थियो । ती किशोरहरुले समता स्कुलमा सांगीतिक वाद्यवादन खरिद गर्न आफ्नोतर्फबाट पाँच सय डलर स्कुलका संस्थापक उत्तम संजेललाई हस्तान्तरण गरे ।

गायक रामकृष्ण ढकाल


कार्यक्रकको दोस्रो प्रस्तुतिका रुपमा स्थानीय बिराज गुरुङले केही गीत गाएर हलको माहौल तताए । सत्या आचार्यको सुन्दर नृत्य कार्यक्रममा अर्काे आकर्षण बन्यो ।


दिग्गज कलाकार हरिवंश आचार्य मञ्चमा देखा पर्नेबित्तिकै उपस्थित सबैले एकै स्वरले उनलाई जन्मदिनको शुभकामना दिए । सोही दिन आचार्यको जन्मदिन थियो । उनले समता स्कुल र यसमा सुरुवातदेखि आफुहरु संलग्न हुनुको कारण सविस्तार सुनाए ।

हरिवंश आचार्य


आचार्यले आफ्ना केही नयाँ तथा पुराना गीत र कमेडीमार्फत् दर्शकलाई भरपुर मनोरजञ्जन गराउने प्रयास गरे । अर्का दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ भने अस्वस्थताका कारण उपस्थित हुन सकेनन् । उनले भर्जिनियाँबाट पठाएको भिडियो सन्देश हलमा प्रस्तुत गरिएको थियो ।


कार्यक्रकको अन्त्यमा सदाबहार गायक रामकृष्ण ढकालको प्रस्तुतिले हल गरमागरम भएको थियो । उनका गीतहरुमा सँगसँगै गाएर र नाचेर दर्शकहरुले धेरेबेर साथ दिए । माया जदौ बोलको अन्तिम गीतमा दर्शकहरु मञ्चमै चढेर ढकालसँग गाउँदै नाचेका थिए ।

नाचेर रमाइलो गर्दै दर्शकहरु


कार्यक्रममा समता स्कुलका संस्थापक उत्तम संजेलले स्कुलको हालको अवस्थाबारे संक्षिप्त जानकारी गराए । उनले निम्नआय भएका परिवारका बालबच्चाको जीवनको समता स्कुलले पारेको सकारात्मक नतिजाका केही उदाहरण प्रस्तुत गर्दा हलले गड्गडाहट ताली बजाएको थियो ।

समता स्कुलका संस्थापक उत्तम संजेल


समता सिनेटका उत्तम गौलीले सिनेटको संरचना र उदेश्यबारे प्रकाश पारे ।

समता ग्लोबल सिनेटका संस्थापक उत्तम गौली

सोही क्रममा प्रतिव्यक्ति एक हजार डलर तिरेर समता सिनेटर बनेका दुई दर्जनभन्दा बढी व्यक्तिलाई सम्मानसहित ताम्रपत्र प्रदान गरियो ।

समता सिनेटरहरुसँग फोटो सेसन


नारायण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा दर्शकका रुपमा उपस्थित पूर्वमिस नेपाल श्रृंखला खतिवडाले छोटो भनाई राख्दै समता स्कुलको लागि सबैलाई सक्दो सहयोग गरिदिन आग्रह गरेकी थिइन् ।

पूर्वमिस नेपाल श्रृंखला खतिवडा

प्रस्तोता नारायण श्रेष्ठ