जोड्ने हो मस्तिष्कमा कम्प्यूटर चिप ? एलन मस्कले राख्दैछन् !

खबर, लेख, लेख

बोस्टन (अमेरिका), डिसेम्बर २


मानिसको मस्तिष्कमा कम्प्यूटर चिप जडान गर्ने प्रयास छिटै हुँदैछ । यो चिप जडान गरेपछि जन्मजात आँखा नदेख्नेले समेत आँखा देख्ने र शरीरका नचलेका अंग पनि चल्ने दावी गरिएको छ ।

अमेरिकास्थित न्यूरालिंक कम्पनीले तारबिनाको चिप विकास गरिरहेको छ । जुन मानिसको मस्तिष्कमा प्रत्यारोपण गर्न अनुमति भने पाउन बाँकी छ ।
न्यूरालिंकले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) समक्ष यस्तो चिप जडानको स्वीकृतिका लागि आवश्यक कागजात बुझाएको छ ।

हालसम्म बाँदर र सुँगुरमा प्रयोग गरिसकेको यो चिप अबको छ महिनाभित्र मानिसमा समेत प्रत्यारोपण गरिने खबरले प्रविधिको संसारमा कौतुहलता बढाएको छ ।


खबर अनुसार, यस्तो चिप विश्वकै धनाड्य एलन मस्कले समेत प्रयोग गर्दैछन् । टेस्ला र ट्वीटरका मालिक एलन मस्क न्युरालिंकका सह–संस्थापक पनि हुन् । उनले बुधबार एक कार्यक्रममार्फत् आगामी ६ महिनाभित्र मानव मस्तिष्कमा कम्प्युटर चिप परीक्षण गर्ने र त्यसमा आफु पनि सहभागी हुने घोषणा गरेका छन् ।

‘हामी यो चिप प्रयोग गर्नुअघि यसले राम्ररी काम गर्छ भन्ने पूर्ण एकिन गर्छौं र अत्यन्त होसियारीपूर्वक मानव मस्तिष्कमा जडान गर्नेछौं’ मस्कले भने ।
सन् २०१६ मा स्थापित न्युरालिंक स्वास्थ्य सम्बन्धी प्रविधि विकास गर्ने कम्पनी हो । मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरी निष्क्रिय रहेका अंगलाई पुनः चल्न सक्ने बनाउने यसको मुख्य उदेश्य रहेको छ ।

मस्कको दावीअनुसार यो चिप मानव मस्तिष्कमा राखेपछि आँखा नदेख्ने व्यक्तिले आँखा देख्न थाल्नेछ । साथै शरीरको अन्य कुनै नचलेको अंग पनि चलाउन सकिनेछ । कम्पनीकाअनुसार चिपमार्फत् कुनै व्यक्तिको दिमाग कम्प्युटरसँग जोडिन्छ र यसलाई कम्प्युटरबाट सञ्चालन गर्न सकिन्छ ।
सुन्दा अपत्यारिलो झैं लाग्ने यस्तो दावीलाई प्रविधिले कतिको साथ दिने हो त्यो भने हेर्न बाँकी छ ।


प्रकाशित मिति : डिसेम्बर २, २०२२