फोटो गायब !
मनोज अधिकारी
एउटा ठूलो समारोहमा थिएँ । त्यहाँ नाम चलेका ठूल्ठूला सेलिब्रेटी सहभागी थिए । एकजना अत्यन्तै लोकप्रिय तथा आफुलाई मन परेका गायक उदितनारायण झासँग जम्काभेट भो ।
मैले एउटा फोटो खिचौं भनेर आग्रह गरेँ । उनी आफ्नो सिग्नेचर मुस्कानसहित राजी भइहाले ।

मैले आफ्नो मोबाइल फोनबाट सेल्फी खिच्न क्यामेरा आफुतिर फर्काएँ । तर फोनको स्क्रिनमा ती सेलिब्रेटी देखिएनन् । म मात्रै देखिएँ । दुई तीनपल्ट प्रयास गरेँ । उस्तै भो । खै के मिलेन भनेर म अलमल्ल परेँ ।
त्यहीबेला मेरै छेउमा एउटा पत्रकार मित्र देखा पर्याे । मैले उसलाई उदिसँगको फोटो लिइदिन आग्रह गरें । ऊ तुरुन्तै मेरो फोन लिएर फोटो खिचिदिन तयार भो । जब उसले फोनको क्यामेरा म र उदिततर्फ सोझ्यायो । ऊ झस्कियो ।
‘ओई तँ खै ?’ ऊ आश्चर्यको भावमा करायो ।
उसले क्यामेरामा उदित र मलाई देखेनछ । अघि मैले सेल्फी लिन खोज्दा म उदितभन्दा अघि अलग्गै उभिएको थिएँ । त्यसैले उदित नदेखिएर म मात्रै क्यामेरामा देखिएको थिएँ । साथीले फोटो खिचिदिने भएपछि म उदितसँगै उभिएँ । अहिले दुवैजनालाई क्यामेराले देखाएनछ । यो के अचम्म भो ? यस्तो आश्चर्य त कहिल्यै भएको थिएन । साथी र म वाल्लविल्ल भयौं।

उदितजी त्यो भीडबाट उही सिग्नेचर हाँसोसहित आफ्नो बाटो लागे । साथी र म अक्कवक्क भई जहाँको तहीं उभियौं । त्यहीबेला आफु पाँच लाखको क्यामेरा बोक्छु भन्ने एउटा ठूलै मिडियाको फोटोपत्रकार हाम्रो छेउ आइपुग्यो । ऊ पनि पुरै रनभुल्ल जस्तो देखिन्थ्यो । नभन्दै ऊ एक हातमा बडेमानको क्यामेरा लिएर अर्काे हातले टाउको कन्याउँदै हामी नजिकै आएर उभियो ।
‘यार, मञ्चमा कस्ता कस्ता सेलिब्रेटी छन् । कतिलाई त नजिकै पुगेर देखें । सबैको फोटो पनि खिचें । तर क्यामेरामा कसैको फोटो छैन, के भएको यस्तो ?’ उसले अनौठो कुरा सुनाएझैं गरेर बेग्लै अनुहार बनायो ।
अघिदेखि टाउको कन्याउन उसले अझै छोडेको थिएन । हामी तीनैजना वाल्ल परेर एक अर्काको मुख हेर्न थाल्यौं ।
प्रविधि कहाँबाट कहाँ पुगिसकेछ, हैट ।
(एउटा सपनाको टिपोट)
(स्केच स्रोत : गुगल)
प्रकाशित मिति : अप्रिल १४, २०२३