३० घण्टामै पुरानो सत्ता ढालेको जेन–जी क्रान्ति

slider, खबर

  • मनोज

नेपालको राजनीतिक इतिहासमा अहिलेसम्म कैयन् आन्दोलन भएका छन्—प्रजातन्त्रका नाममा, गणतन्त्रका नाममा, संघीयता वा समावेशिताका नाममा। तर ती आन्दोलन प्रायः लामो समयसम्म चलेर अन्ततः सत्तासीन दलहरूसँग सम्झौतामा टुंगिन्थे।

परिणामस्वरूप पुरानै शासक, पुरानै शैली, पुरानै भ्रष्टाचार र उही नैतिक पतन दोहोरिन्थ्यो।फगत उनीहरु नयाँ नेपालको नारा दिन्थे । जनतालाई थप पुरानै नेताले शासन र दमन गर्थे ।

निश्चय नै ठूलो भौतिक क्षति भयो। सिंहदरबारदेखि अदालतसम्म नष्ट भए। तर भौतिक संरचना फेरि उठ्छन्—जसरी महाभूकम्पपछि उठेका थिए, जसरी अन्य दैवी प्रकोपपछि फेरि बनेका थिए।
तर युवाको जीवन फर्किँदैन। बीस परिवारलाई परेको पीडा इतिहासले बिर्सने छैन।

तर भदौ २३, २०८२ मा जेन-जी पुस्ताले सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलन मात्र दुई दिन अर्थात् ३० घण्टा भन्दा कम समयमा निर्णायक बिन्दुमा पुगेको छ।

यसले दुईवटा प्रमुख दलको संयुक्त सरकार मात्र ढलेन, बरु राज्यका प्रमुख प्रतीक—सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, संसद् भवनदेखि लिएर सर्वाेच्च अदालत र अख्तियारसम्मका संरचना ध्वस्त पारिदियो। राजधानी मात्र होइन, देशभर पुराना दलहरूको प्रभाव मेटिँदै गएको छ।

यसपटकको आन्दोलन फरक रह्यो। जेन–जी पुस्ताले सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलन केवल दुई दिनमै निर्णायक मोडमा पुग्यो। ३० घण्टा भित्रै पुरानो सत्ता संरचना ढलेर इतिहासकै दुर्लभ घटना बनेको छ।

आन्दोलन सुरु भएको पहिलो दिन शान्तिपूर्ण प्रदर्शनमै सरकारले बर्बर दमन गर्याे । युवाको आवाज सुन्न चाहेन । गोली चलायो। बीस निहत्था युवाको मृत्यु भयो। यही क्षण आन्दोलन निर्णायक मोडतिर धकेलियो।

भावनात्मक आक्रोशले आन्दोलनलाई सामान्य विरोध होइन, पुरै प्रणालीविरुद्धको विद्रोहमा बदलिदियो।

दोस्रो दिन राजधानीसहित देशका धेरै सहरमा आक्रोश ज्वालामुखीझैँ फाट्यो। सिंहदरबार, संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासदेखि अदालत र मन्त्रालयसम्म जलेर खरानी भए। पुराना दलका शीर्ष नेताहरुका निजी निवाससमेत सुरक्षित रहेनन्।

इतिहासमा पहिलोपटक आन्दोलनकारीहरूले सत्ता मात्र होइन, सिंगो शासन संरचनालाई नै चुनौती दिँदै ढालिदिए।

प्रधानमन्त्रीले क्षणभरमै राजीनामा दिएर सेनाको हेलिकप्टर चढेर ब्यारेकमा शरण लिनु पर्याे । प्रमुख दलका शिर्षदेखि कैयन् नेताहरु कुटपिट र लछारपछारको शिकार भए । सेनाले सडक ओर्लेर देशको सुरक्षा जिम्मा लिनु पर्ने अवस्था आयो ।

सिंहदरबारदेखि अदालत, मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालयसम्म ध्वस्त भएका छन्। राजनीतिक दलका शीर्ष नेताहरुका निजी निवास र सम्पत्तिसमेत खरानी भएका छन्। निश्चय नै यो ठूलो भौतिक क्षति हो।

३० घण्टामा भएको यो क्रान्ति नेपालकै इतिहासमा अद्वितीय छ। यसले देखाएको छ—जब नयाँ पुस्ता एकढिक्का हुन्छ, पुरानो सत्ता संरचना टिक्दैन। तर आन्दोलनको सफलता केवल पुरानो संरचना ढालेर मात्र नापिँदैन।
सफलता त तब मात्र मानिनेछ, जब यो पुस्ताले भौतिक पुनर्निर्माणसँगै शासन प्रणालीको पुनर्निर्माणमा पनि सफलता देखाउँछ।

तर भौतिक संरचना फेरि निर्माण हुन्छन्—जसरी महाभूकम्पपछिका अवशेष फेरि बने, जसरी दैवी प्रकोप वा दुर्घटनापछि संरचनाहरू नयाँ स्वरूपमा उभिन्छन्।


तर युवाको ज्यान फर्किँदैन। २० परिवारको पीडा आजीवन बाँकी रहन्छ। त्यसैले अहिले चिन्ता भौतिक ध्वंसको भन्दा बढी नयाँ शासन संरचना निर्माण गर्ने क्षमतामाथि केन्द्रित हुनुपर्छ। मानवीय क्षति फर्किने छैन। पीडा इतिहासमा अंकित रहनेछ।

अब मुलुकलाई चाहिएको छ—

  • सानो तर प्रभावकारी राज्य संरचना
  • संघीयता र समानुपातिक प्रणालीको पुनर्विचार
  • चुस्त, प्रविधिमैत्री र जनउत्तरदायी प्रशासन
  • आर्थिक क्षमतासँग मेल खाने शासन ढाँचा

आजसम्मको अनुभवले देखाउँछ—भिमकाय संरचना र अन्धाधुन्ध सत्ता बाँडफाँटले मात्र खर्च बढाउँछ, भ्रष्टाचार प्रोत्साहन गर्छ र शासकलाई जिम्मेवारीविहीन बनाउँछ। त्यसैले सानो, पारदर्शी र कार्यक्षम शासन अबको आवश्यकता हो।

निचोड

यो क्रान्ति केवल पुराना दल र नेताहरूको पतन मात्र होइन, बरु नेपाली समाजमा स्थायी सुशासन र पारदर्शिताको आधारशिला बन्न सक्छ। प्रश्न अब यही हो—के जेन-जी पुस्ताले यो क्रान्तिको उर्जा सही मार्गमा प्रवाहित गर्ने सक्षम नेतृत्व दिन सक्छ?
भौतिक संरचना फेरि उठ्छन्, तर यो पुस्ताले बनाउने शासन संरचना, त्यो स्थायी र भविष्य परिभाषित गर्ने हुनेछ।

तस्विर: विभिन्न सञ्चार माध्यम ।