मेरो बारेमा
यो ब्लग साइट हो । समाचार साइट जस्तो देखिनु समयको माग मात्र हो । यसमा मेरो व्यक्तिगत विचार, अनुभव, अनुभूति र संस्मरण हुनेछ । यसबाहेक समसामयिक लेख तथा साहित्यले पनि स्थान पाउनेछ । दिनदिनै र छिनछिनैका खबर प्रकाशन गर्ने न्यूज साइटको रुपमा यो ब्लग प्रयोग हुने छैन ।
यद्यपि आमचासो र सरोकारका ठूला र महत्वपूर्ण विषय भने बेला बेला सूचनामुलुक खबरका रुपमा आउन सक्नेछ ।

कोही कसैप्रति पूर्वाग्रह नराखी निष्पक्ष र सन्तुलनमा रहि कलम चलाउने मेरो पहिलेदेखिको प्राथमिकता हो । कुनै पक्ष नलिई सत्यलाई सत्य र झुटलाई झुट भन्ने मेरो आधारभूत सिन्द्धान्त छ । सत्यप्रतिको अडान नै मेरो निष्ठा र सिद्धान्तको जग हो ।
पत्रकारिता पढेर पत्रकार बन्न पाइन्छ भन्ने जानेपछि मेरो ध्यान अरु विषयमा कहिल्यै गएन । आर.आर.कलेजमा पत्रकारिता विषय पढेर रेडियो सगरमाथामा इन्टरनशीप गरेपछि मैले पेशागत पत्रकारिताको यात्रा कान्तिपुर एफएमबाट थाल्ने मौका पाएँ ।
त्यतिबेला मुलुकमा सशस्त्र द्धन्द्ध उत्कर्षमा र अस्थिर राजनीति विकृत अवस्थामा थियो । कान्तिपुरमा सात वर्ष रहँदा राजाको प्रत्यक्ष शासन, ऐतिहासिक दोस्रो जनआन्दोलन, संविधानसभा निर्वाचन, राजतन्त्रको अवसान र गणतन्त्र उदयको क्षणसम्म व्यस्त रेडियो पत्रकारका रुपमा हरेक घटनाको साक्षी बन्ने अवसर मिल्यो ।
प्रेस स्वतन्त्रताका लागि सडकमा ओर्लदाँ प्रहरीका लाठीले लखेट्थ्यो । अश्रुग्याँसको मुस्लोले दपेट्थ्यो ।स्टुडियोमा समाचार पढेकै कारण शाहीकालमा सर्वोच्च अदालतमा आफुविरुद्ध मुद्दा समेत परेथ्यो । स्वतन्त्र पत्रकारिताका लागि सडकदेखि अदालतसम्म संघर्ष गर्दाका यस्ता अनगिन्ती विगत मानसपटलबाट कहिल्यै विस्मृत हुन सक्दैनन् ।
पेशागत संघर्षका अनेक उल्झन र उतार, चढाब देख्ने, भोग्ने पुस्ताको एक प्रतिनिधि हुनुको नाताले यसप्रति कहिल्यै मोह भंग नहुनु स्वभाविक हो ।
समयक्रमसँगै हाल पेशागत यात्रा मोडिएर पनि पत्रकारिताप्रतिको चाख र चासो सधैं हुँदो रहेछ । १२ वर्ष सक्रिय पत्रकारिता गरेको त्यही अनुभवको संगालो र अनलाइन संस्करणमा अझै सिक्ने रहरस्वरुप अहिले यो ब्लग साइट आएको छ ।
यसमा म नयाँ लेख, रचना, ब्लग, फोटो र भिडियोमार्फत् आफुलाई अभिव्यक्त गर्ने जमर्काे गर्नेछु । साथै कान्तिपुर, सेतोपाटी, बाह्रखरी, सफल आवाज लगायत अनलाईन मिडियामा प्रकाशित मेरो लेख, रचनालाई पनि यसैमा एकिकृत गर्ने कोशिस गरेको छु । त्योभन्दा पुराना प्रकाशित मेरा समाचार, फिचर तथा लेखहरुलाई पनि भेटेसम्म संग्रहका रुपमा समेटेको छु ।
मेरो ब्लग साइट र यसमा समावेश सामग्रीप्रति यहाँहरुको सल्लाह, सुझाब र प्रतिक्रियाको सदैव स्वागत हुनेछ ।
धन्यवाद ।
About Myself
I am Manoj Adhikari, a freelance writer, and former print and radio journalist in Nepal.
I worked on Radio Kantipur as a reporter and broadcaster (2001 to 2008). After that I joined ‘Nagarik’ Nepali and ‘Republica’ English national daily newspaper as a senior correspondent (2008 to 2013) covering western region, Pokhara.

My journalism journey started from Radio Sagarmatha, as an internship of my Bachelor degree in Mass communication. Before that I used to write features and articles for Kantipur and Rajdhani daily as a freelancer.
For a while, my active journalism turned into freelance writing and literature. My wish is to use new media for upcoming creativity. I love writing family drama and social stories. I have a passion for traveling, taking pictures and making videos.