टेलर स्विफ्टले ल्याएको आर्थिक उछाल

slider, कथा, लेख, लेख

  • अहिलेकै ट्रेन्ड कायम रहे ‘एराज’ यात्राको अन्त्यसम्ममा टिकट बिक्रीबाट मात्रै एकदेखि डेढ अर्ब अमेरिकी डलर आम्दानी हुनेछ
  • एराज टुरले २० अमेरिकी सहरमा सिर्जना गरेको फ्यानहरूको आर्थिक गतिविधि नै संसारको ३० देशको कुल गार्हस्थ्य उत्पादनभन्दा बढी छ

कान्तिपुर दैनिकको अनलाइन संस्करणबाट साभार :

अमेरिकी गायिका टेलर स्विफ्टसम्बन्धी हालैको एउटा रोचक प्रसंग तपाईंलाई कत्तिको थाहा छ ? गएको जुलाईमा अमेरिकाको सियाटलमा आयोजित कन्सर्टमा नाच्दै रमाइलो गर्ने क्रममा स्विफ्टका प्रशंसकहरूले २.३ म्याग्निच्युडको भूकम्प नै ल्याइदिएका थिए ।

आफ्ना ‘एराज’ नामक पछिल्लो सांगीतिक यात्राका क्रममा अमेरिकाका विभिन्न सहरमा पहिलो चरणका प्रस्तुतिहरू अघिल्लो साता मात्र सकेकी स्विफ्टको ख्याति र चर्चा लोभलाग्दो मात्रै छैन, यसले विभिन्न आर्थिक रेकर्डहरू पनि कायम गरेको छ ।

अहिलेकै ट्रेन्ड कायम रहे एराज यात्राको अन्त्यसम्ममा स्विफ्टले टिकट बिक्रीबाट मात्रै एकदेखि डेढ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरिएको छ । र, त्यो अहिलेसम्मकै सर्वाधिक हुने बताइन्छ । अमेरिकाका विभिन्न २० सहरमा ५२ वटा प्रस्तुति दिएकी यी गायिकाको पछिल्लो टुर मार्च महिनामा सुरु भएको थियो ।

कतिपय सहरमा बुकिङ खुल्नेबित्तिकै टिकट बेच्ने अनलाइन प्लेटफर्महरू अत्यधिक मागका कारण क्र्यास भएका थिए । एराज टुरको अग्रिम बुकिङ खुल्नेबित्तिकै केही घण्टामै झन्डै ३५ लाख टिकटको माग भएको थियो । 

स्विफ्टको टुरसँग सम्बन्धित एउटा सर्भेका अनुसार उनका प्रशंसकले कार्यक्रमका दौरान हवाई यात्रा, टिकट, मदिरा, पोसाक लगायतमा औसत एक हजार तीन सय अमेरिकी डलर खर्च गर्ने गरेका छन् । अमेरिकामा भएका कार्यक्रममा मात्रै ५ अर्ब अमेरिकी डलरभन्दा बढीको कारोबार भएको प्रक्षेपण गरिएको छ ।

ग्लोब न्युजवायर रिपोर्टलाई हालै दिएको अन्तर्वार्तामा क्वेसनप्रो रिसर्चका ड्यान फ्लीटवुडले भनेका थिए, ‘यदि टेलर स्विफ्ट कुनै अर्थतन्त्र हुन्थिन् भने उनी विश्वका ५० वटा देशका कुल गार्हस्थ्य उत्पादनभन्दा बढी हुन्थिन् ।’ 

मासाचुसेट्सका एक पिताले अन्तिम समयमा स्विफ्टको सांगीतिक कार्यक्रमको टिकट पाउन २१ हजार अमेरिकी डलरसमेत तिरेको र लस एन्जलस सहरमा उनका ६ वटा सांगीतिक कार्यक्रम हुँदा पनि टिकटको माग उस्तै रहनुले पनि यो सांगीतिक र व्यावसायिक उथलपुथलको आकलन गर्न सकिन्छ ।

स्विफ्टको प्रभाव टिकट बिक्रीमा मात्रै सीमित छैन, अमेरिकाका एटलान्टा, बोस्टन, सिकागो, सियाटल लगायतका विभिन्न स्थानमा कोभिड महामारी सकिएयता पहिलो पटक स्थानीय सेवा व्यवसायहरूको माग अत्यधिक बढेको रिपोर्टहरू आएका छन् ।

टेनेसीमा रहेको निसान रंगशालामा भएको एउटै कन्सर्टमा झन्डै ७० हजार फ्यान उपस्थित थिए । नास्भिल एअरपोर्टले सो साता झन्डै २ लाख जना आफ्नो सहरमा आएका बताएको थियो । एरिजोनाको ग्लेन्डल सहरमा आफ्नो टुरको पहिलो प्रस्तुति दिएकी स्विफ्टको कार्यक्रमकै कारण सो सहरलाई अस्थायी रूपमा ‘स्विफ्ट सिटी’ नामकरण गरिएको थियो ।

कार्यक्रमका कारण झन्डै डेढ लाख व्यक्ति ग्लेन्डल सहरमा आएका घोषणा गरिएको थियो । यो संख्या कति ठूलो हो भने अमेरिकामा प्रख्यात सुपरबल सोही सहरमा हुँदा त्यसको आधा मानिस मात्र सहरमा आएका थिए । 

ह्युस्टनस्थित एन्जिए रंगशालामा कार्यक्रम गर्दा स्विफ्टका प्रशंसकले ७२ हजारभन्दा बढी क्षमताको स्थान लगातार तीन पटक पुरै भरेका थिए । स्विफ्टको कार्यक्रम आयोजित साता सिकागोमा ९७ प्रतिशत अर्थात् ४४ हजारभन्दा बढी होटेल बुक भएका थिए ।

फिलाडेल्फियाको फेडेरल रिजर्भले मन्दीले सुस्ताउँदो अर्थतन्त्रको पुनरुत्थानमा विश्वव्यापी रूपमा दुई सय मिलियनभन्दा बढी एल्बम बेचिसकेकी यी गायिकाको टुरले बलियो टेवा दिएको घोषणा नै गरेको थियो । हिन्दुस्तान टाइम्सको एक समाचारमा एराज टुरले अमेरिकाका २० सहरमा सिर्जना गरेको फ्यानहरूको कुल आर्थिक गतिविधि नै संसारको ३० देशको कुल गार्हस्थ्य उत्पादनभन्दा बढी रहेको दाबी गरेको छ ।

आगामी वर्ष अर्थात् २०२४ को नोभेम्बरमा क्यानडाको टोरन्टोबाट आफ्नो सांगीतिक यात्रा सकाउने योजनामा रहेकी स्विफ्टले अहिलेको व्यावसायिक धमाकालाई ध्यानमा राखेर आफ्नो यात्रा लम्ब्याए वा थप सोहरूको घोषणा गरे अचम्म नहुने कला विश्लेषक क्रिस विलम्यानको ठहर छ ।

मर्निङ कन्सल्ट सर्भेले उनको यात्रा सुरू हुनुअघि गरेको एक सर्वेक्षणमा स्विफ्टका फ्यानमध्ये ७४ प्रतिशत गोरो वर्णका, ४५ प्रतिशत मिल्लेनियल र ५४ प्रतिशत अर्धसहरी क्षेत्रमा बसोबास गर्नेहरू रहेका देखाएको थियो । यस अर्थमा हेर्दा स्विफ्टका झन्डै दुई तिहाइ प्रशंसक ४० वर्षभन्दा कम उमेरका र युवावयका महिलाहरूमा उनको अचाक्ली प्रभाव रहेको पनि सर्वेक्षणले देखाएको छ । 

सामान्यतया छिट्टै जिब्रोमा झुन्डिने गीत बनाउन माहिर उनलाई केहीले अहिलेको पुस्ताको उम्दा गीतकारमध्ये एक मान्छन् । आफ्नो प्रसिद्धिसँगै एप्पल म्युजिक लगायतसँग समान ज्यालाका लागि उनले लिएको सार्वजनिक अडान र आफ्नो सरलताले पनि उनलाई व्यावसायिक रूपमा सफल र उल्लेख्य बनाउन मद्दत गरेको छ ।

स्विफ्टका दसमध्ये नौ एल्बम अमेरिकी बिलबोर्डमा व्यावसायिक रूपमा अत्यन्तै सफलको सूचीमा पर्न सफल थिए । आफ्नो संगीतमा दर्शकको रुचिअनुसारको प्रयोग गर्न सक्ने बानीले उनलाई अहिलेको सफलता दिलाउन सघाएको मानिन्छ । 

आफ्नो टुरका क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, एसिया र अस्ट्रेलियाका विभिन्न सहरमा जाने योजनामा रहेकी स्विफ्टलाई क्यानडा, चिली, थाइल्यान्ड, हंगेरी लगायतकाले औपचारिक रूपमै आफ्नो देशलाई पनि टुरमा सामेल गरिदिन अनुरोध गरेका समाचार इकोनोमिक टाइम्सले प्रकासित गरेको छ ।

प्रत्येक कार्यक्रमबाट दस मिलियन अमेरिकी डलरभन्दा बढी आर्जन गर्ने ३४ वर्षीय गायिकाले आफ्नो अमेरिका टुरमा संलग्न ट्रक चालक, नतर्की, प्राविधिक लगायतलाई गएको साता प्रतिव्यक्ति एक लाख डलर उपहार दिएकी थिइन् । त्यसका लागि कुल ५५ मिलियन अमेरिकी डलर खर्च गरेकी थिइन् । 

स्विफ्टले आफ्ना ५२ वटा कार्यक्रममै यसअघि २००८/०९ मा अर्की अमेरिकी गायिका मडोनाले ८५ कार्यक्रममार्फत राखेको एउटा सांगीतिक टुरमा सर्वाधिक कमाउने गायिकाको रेकर्ड तोडिसकेकी छन् । यो टुरको अन्त्यमा एक अर्ब डलरमाथि आम्दानी गर्दा उनले एल्टन जोनको ९ सय मिलियनभन्दा बढी कमाउने रेकर्डलाई पनि पछि पार्नेछिन् । 

स्थानीय रोजगारी, तयारी खर्च, उत्पादनहरूको बढ्दो मागलगायत आर्थिक मन्दी भोग्दै गरेको अमेरिकी अर्थतन्त्रमा १२ वटा ग्रामी अवार्ड जितिसकेकी यी एक्ली गायिकाको कार्यक्रमले दिएको राहतको विस्तृत विवरण बिस्तारै आऊला । तर, स्विफ्टिज भनिने उनका प्रशंसकहरू भने एराज टुरलाई संगीत इतिहासकै सबैभन्दा सफल टुर बनाउने दिशामा अघि बढ्न प्रतिबद्ध देखिन्छन् । 

स्विफ्टको अर्को कार्यक्रम अगस्ट २४ मा मेक्सिकोको राजधानीमा हुनेछ । स्विफ्टिजको कम्पन पहिलोपटक अमेरिकाबाहिर उस्तै हुन्छ कि हुँदैन, त्यो भने एक सातामा नै थाहा भइहाल्नेछ ।