परिचय के दिऊँ ?

slider, खबर, लेख, लेख

मनोज अधिकारी

मलाई ठाउँ कुठाउँ पत्रकार हुँ भनेर परिचय खुलाउँदै हिंड्न मन लाग्दैन। अनावश्यक ठाउँमा आफूलाई चिनाउन र अरुले चिनुन् भन्ने ठान्न पटक्कै मन मान्दैन। यस्तो गर्नु परे बडो असजिलो लाग्छ।यसको कारण मैले बुझेको छैन।

पेशागत परिचयको निश्चित ठाउँ र समय हुन्छ भन्ने लागेर होला। आफ्नो पेशागत धर्म निर्वाह गर्न ठाउँअनुसार अघि सरिन्छ नै।

तैपनि अरुले चिनेर सोध्दा होइन भन्न त मिलेन। आफ्नो स्वभाव यस्तो छ भन्दैमा अरुको नजरमा ठूलो पल्टेको, भाउ खोजेको वा अरुलाई नगनेको भन्ने आक्षेप लाग्न दिनु पनि भएन। त्यसैले पत्रकार भन्ने परिचय कहिले बाटोमै दिनुपर्छ। कहिले सार्वजनिक बसमा। कहिले अरुको घरायसी जमघटमा। सार्वजनिक सभा, समारोह, भेलाजस्ता औपचारिक कार्यक्रममा पेशागत परिचय खुलाउँछु। जहाँ सवाल जवाफ चल्छ। धेरै विधा र क्षेत्रका व्यक्तिसँग सम्पर्क बढाउने मौका मिल्छ। अनि कहिलेकाहीं सूचनाका राम्रा स्रोत र क्लु फेला पर्छ।

तर व्यक्तिगत जीवनका कुरा बेला न कुबेला सोध्नु र ठाउँ-कुठाउँ पेशालाई जोड्नु त उचित हुँदैन नि। जस्तोः सैलुनमा कपाल काट्दा। डेरीमा दूध किन्दा। माइक्रोबस चढ्दा। रेष्टुरेन्टमा मःमः खाँदा। सार्वजनिक ट्वाइलेट प्रयोग गर्दा। अस्पतालमा लाइन बस्दा। अनि मन्दिरमा प्रसाद थाप्दा पत्रकार हुँ भन्दै कसरी हिँड्नू!

म यसो गर्दिनँ। गर्नै सक्दिन । कार्यक्षेत्रभन्दा बाहिर पेशागत परिचयलाई साइलेन्समा राख्न खोज्छु। भन्छन् नि ‘लो प्रोफाइल।’ तर प्रायः अरुले यस्तो हुन दिँदैनन्। ठाउँ कुठाउँ परिचय खुलाइदिनछन् । अझै उनीहरुनै गरिदिन्छन् ।कैयन् पटक यस्तो भएको छ ।

एकपल्ट दुई पाउ कुखुराको मासु किन्दै थिएँ। एक परिचित मर्निङवाकबाट फर्किदै रैछन्। उनी झम्टिए झैं गरी मेरो सामु आए। हत्तपत्त मासु पसलेलाई ‘कान्तिपुरको पत्रकार ज्यू’ भन्दै मेरो परिचय गराइदिएर गए।

म अवाक् बनें। अप्ठ्यारो मान्दै मासु लिएर हिंडेँ। अर्कोपल्टदेखि त्यहाँ जान बन्द। के यो पत्रकार हुँ भनेर चिनिनु पर्ने ठाउँ हो? झ्याउ लाग्दो।

बिदाको दिन आक्कल झुक्कल केही साथीसँग तास खेल्न बसिन्छ। म्यारिजमा माल गन्दै गर्दा ‘म कान्तिपुरको फलानो’ भन्नुपर्ने बाध्यता कस्तो होला? यस्तो पनि भएको छ कैँयनपल्ट साथीकै कारणले। म त्यहाँ पत्रकार हुँदै होइन नि।

‘सधैं साढे ६ बजे समाचार पढ्ने यही हो’ साथीले टुप्लुक्क आइपुगेका उसका छिमेकीको अघि यसरी चिनायो। म वाल्ल परें।

‘पत्रकार ज्यू त यता म्यारिजमा जम्नु भएछ। कसले भन्छ आज सम्चार?’ ती छिमेकीले नजिकै आएर हात मिलाउँदै व्यङ्ग्य हाने। म रातोपिरो भएँ। साथीतिर हेरेर आँखा तर्दै मुर्मिरिएँ।

अर्को साथीसँग क्याफेमा चिया पिउँदै थिएँ। ऊ एक निजी बैंकको म्यानेजर। उसकै बैंकका एक ऋणी संयोगले त्यहीं आइपुगेँ। साथी परिचय गराउन हतारियो। मेरो नामै नभनी उसले काम गर्ने मिडिया र समाचारवाचक भनेर चिनाइदियो।

‘कान्तिपुरमा समाचार भन्ने पत्रकार उही हो। केही छ भने भन्नुस् ल।’ साथीले अचानक फ्लोर ओपनै गरिदियो। म अप्ठ्यारो मानेर आफ्नो नाम भन्न खोज्दैथें। तिनी धारा प्रवाह सोध्न थाले।

‘मौसम कहिलेसम्म यस्तो धुम्म हुन्छ? अबको राजनीति कता जाला? चुनावमा कुनै दलको बहुमत आउला जस्तो लाग्छ यहाँलाई? चुनावपछि स्थिर सरकार बन्ला कि अहिलेजस्तै खिचडी होला? देशको अर्थतन्त्र कहिले सुध्रेला खै? राजनीतिमा विदेशीको चर्को हस्तक्षेप छ भन्छन्। तपाईंलाई त पक्कै थाहा होला।’

मैले मुसुमुसु हाँस्दै उनका प्रश्न उनीतिरै फर्काएर सोधें। उनले तारन्तार तिनै प्रश्न सोध्न छोडेनन्। म हैरान भएँ। न मेरो व्यक्तिगत परिचय दिन पाएँ। न एकछिन फुर्सद मानेर चिया पिउन सकेँ।

कुनै काम सम्झेको बहाना बनाएर आधाकप चिया छोडेर म त्यहाँबाट उठेँ। अरु त अरु यस्तै हैरानी घटबेटी अंकलले प्रायः सधैं गराउँथे। म उनलाई छलेर सकभर उम्कन खोज्थें।

डेरा छेउको तरकारी पसले यस्तै गर्थ्यो। म आफ्नो हतारो सुनाउँथें, ऊ ‘एकछिन पख्नुस् न’ भन्दै मागेको तरकारी नदिई उभ्याउँथ्यो। अझ पत्रिका पसले आजको पत्रिका पढ्न नभ्याउँदै भोलिका समाचार जान्न उत्सुक भएर मेरो उपस्थिति कुरेर बस्थ्यो।

एकपल्ट डेरा खोज्न जाँदा सम्भावित घरबेटीले ‘के गर्नु हुन्छ’ भनेर सोधे। मैले ‘म विद्यार्थी हुँ। सानोतिनो जागिर पनि छ’ भनें।

सँगै गएको साथीले ‘कान्तिपुरको पत्रकार हो, रेडियोमा बोल्छ। सुन्नु भएकै होला’ भनेर खुलाइदियो। ती घरधनीले ‘पत्रकार आधा रातमा आउँछन्। ढोका खोल्ने र लाउने गरेर डिस्टर्ब हुन्छ’ भन्दै डेरा दिएनन्। उनी पहिल्यै एउटा पत्रकारबाट यस्तो हैरानी पाएर चेतेका रहेछन्।

म आफ्नो पेशा जहाँ पायो त्यहाँ खुलाउन चाहन्न। तर भइदिँदैन त्यस्तो। ठाउँ र आवश्यकता हेरी कहाँ, कसलाई, कतिबेला पेशाबारे खुलाउने वा नखुलाउने भन्ने हामीकहाँ कुनै ज्ञानै छैन। मेरो मतलब आफ्नो पेशा ढाँटेर अर्थोक भन्नुपर्छ भन्ने पनि होइन।

…………

(पूर्वप्रकाशित आफ्नै लेखको एक अंश)