प्रकाश: शानदार प्रस्तुति
अमेरिका
अक्टोबर १६, २०२५
नेपाली चलचित्र ‘प्रकाश’ जब नियमित प्रदर्शनमा आयो । त्यसबेला समीक्षकहरुले यसको निकै प्रशंसा गरे । अहिले यो फिल्म यूट्यूबमा उपलब्ध भएपछि हेर्ने मौका मिल्यो ।
यसको कथा, प्रस्तुति, लोकेशन, श्रब्यदृश्य आदि हिसाबले फिल्म साँच्चै तारिफयोग्य नै छ । पछिल्ला वर्षहरूमा बनेका सामाजिक यथार्थमूलक फिल्ममध्ये एउटा सशक्त कृति हो। निर्देशकले जुम्लाको दुर्गम माटोमा जन्मेका एक युवाको संघर्षमार्फत नेपालकै शैक्षिक, राजनीतिक र सामाजिक संरचनाको विकृति अत्यन्त प्रामाणिक ढंगले चित्रण गरेका छन्।

फिल्मको केन्द्रमा छ, जुम्लाको सानो गाउँमा बस्ने प्रकाश, जसको बाल्यकालदेखि एक मात्र सपना हो, शिक्षक बन्ने।
गरिब परिवारमा जन्मिएको ऊ पढाइमा अब्बल छ, मेहनती छ, ईमानदार छ। तर जब ऊ योग्यता साबित गरेर जागिर पाउने मोडमा पुग्छ, त्यही बेला उसले सामना गर्नुपर्छ घुस, पहुँच र राजनीतिक सिफारिसको कुरुप यथार्थसँग।
फिल्मले यही यात्रालाई अत्यन्त यथार्थवादी शैलीमा प्रस्तुत गरेको छ । प्रकाशको सपना शिक्षक बन्ने हो, तर देशको प्रणालीले उसलाई बेरोजगारी, सामाजिक विभेद र आर्थिक अभावको चक्रभित्र कैद गर्छ।
मुख्य पात्र प्रकाशको भूमिकामा प्रदीप खड्काले अब्बल अभिनय गरेका छन् । कुनै यस्तो ठाउँ छैन जहाँ उनी चुकेका हुन् । उनले आफ्नो भूमिकामा अद्भुत जीवन्तता भरेका छन्। उनको आँखाभित्रको सपना र अनुहारमा झल्किएको निराशा सँगसँगै हिंड्छन्।
उनकी आमाको भूमिकामा दीया मास्केले मातृत्वलाई यति स्वाभाविक रूपमा प्रस्तुत गरेकी छन् कि धेरै दृश्यमा संवादभन्दा भावनाले काम गर्छ।
गाउँका राजनीतिक कार्यकर्ता, शिक्षक, र साथीहरूको पात्रले ग्रामीण समाजको बास्तविकता, सानो घेराभित्रको ठुलो राजनीति, उत्कृष्ट रूपमा देखाउँछ। कुनै पात्र बनावटी लाग्दैन । सबै आफ्नै गाउँघरका मान्छेझैँ लाग्छन्।

जुम्ली कथा र दृश्य मात्र होइन बोलीको लवज पनि पात्रमार्फत् फिल्मले न्यायसंगत रुपमा उतारेको भान हुन्छ । यस्तै गाउँको विद्यालयमा समेत कुन तहको राजनीति हुन्छ भन्ने मिहिन तरिकाले देखाइएको छ ।
गाउँका मुल राजनीतिक पात्र बनेका प्रकाश घिमिरे उत्तिकै सुहाएका छन् । उनको ज्वाईं राजन खतिवडा फिल्मको मुख्य मियो हुन् भन्दा फरक पर्दैन । फिल्ममा कथालाई अघि बढाउने मुख्य पात्र उनै हुन् ।
फिल्मको अर्को बलियो पक्ष हो यसको लोकेशन र दृश्य–भाषा। जुम्लाको भीरपाखा, धुलो उड्ने बाटा, झुकेका घर, अनि बिहानको चिसो उज्यालो, यी सबै दृश्यहरूले केवल पृष्ठभूमि होइन, कथाको आत्मा बनाएका छन्।
छायांकन सरल छ तर गहिरो पनि । हरेक फ्रेममा एक किसिमको मौनता छ, जुन दर्शकलाई सिधा गाउँको माटोसँग जोड्छ।
फिल्मका केही संवाद यति शक्तिशाली छन् कि ती चलचित्रका सीमा नाघेर वास्तविक जीवनमा पनि गुन्जिन्छन्।
“राजनीतिमा जिउँदा भन्दा मरेका नै काम लाग्छन्। ठूल्ठूला पार्टीहरुले मरेका नेताको फोटो देखाएर चुनाव जितेका छन् ।”
“सरकारी जागिर खान सजिलो छैन, लाखौं खर्च गर्नुपर्छ।”
“माया गरेर मात्र हुन्छ ? यो जातपातको पर्खाल कसरी भत्किन्छ ?”
“आदर्शको कुरो जीवनसँग मेल खाँदैन ।”
यी वाक्यहरूले नेपालको वर्तमान सामाजिक र राजनीतिक संरचनामाथि तीखा प्रश्न उठाउँछन्। फिल्मले दर्शकलाई केवल मनोरञ्जन होइन, सोच्ने, आत्मसमीक्षा गर्ने, र समाजप्रति प्रश्न गर्न प्रेरित गर्छ।
फिल्मका गीत र पृष्ठभूमि संगीत सरल छन्, तर ती भावना जगाउने खालका छन्। गीतहरू प्रकाशको पीडा, आमाको ममता र गाउँको मौन जीवनसँग तादात्म्य राख्छन्।
सङ्गीतले दृश्यभन्दा पनि बढी संवेदना बोल्छ, खासगरी अन्त्यतिर, जब प्रकाशको सपना विग्रँदै जान्छ।

‘प्रकाश’ कुनै व्यापारिक र चमकधमकको फिल्म होइन, यो नेपाली समाजको गहिरो दर्पण हो। फिल्मले देखाउँछ, देशको विकास केवल भाषणले होइन, न्यायपूर्ण प्रणाली र समान अवसरले मात्र सम्भव छ।
प्रकाशको हारमा हजारौं युवाको पीडा मिसिएको छ, तर त्यसमा एक किसिमको गर्व पनि छ, प्रयास नगरी हार्ने होइन, अन्तिमसम्म लड्ने साहसको गर्व।
‘प्रकाश’ उत्कृष्ट कथा, जीवन्त पात्र, यथार्थपरक परिवेश र गहिरो सन्देशले भरिएको फिल्म हो। अनि मन छुने, सोचाइ बदल्ने र देशको संरचनालाई पुनर्विचार गर्न बाध्य पार्ने कृति पनि हो।
