मस्कको १ ट्रिलियन डलर प्याकेज स्वीकृत
अमेरिका
नोभेम्बर ६, २०२५
टेस्ला (TSLA) ले टेक्सासको अस्टिनस्थित वार्षिक साधारण सभामा प्रमुख कार्यकारी अधिकृत (CEO) इलोन मस्कको १ ट्रिलियन डलरसम्म पुग्ने तलब प्याकेज पारित भएको घोषणा गरेको छ।
कम्पनीका अनुसार यो प्रस्ताव ७५ प्रतिशतभन्दा बढी सेयरधनीहरूको समर्थनमा पारित भयो।
सेप्टेम्बरमा सार्वजनिक गरिएको यो प्याकेजअन्तर्गत मस्कलाई १२ चरणमा ठूलो संख्यामा सेयर अप्सन प्रदान गरिनेछ, जुन कम्पनीले “चुनौतीपूर्ण लक्ष्यहरूमा आधारित” भएको बताएको छ।
मतदानको नतिजा सार्वजनिक भएपछि टेस्लाको सेयर मूल्य २ प्रतिशतले बढेको छ।
हाल मस्कको टेस्लामा करिब १३ प्रतिशत हिस्सेदारी छ। उनले पछिल्ला वर्षहरूमा कुनै प्रत्यक्ष तलब पाएका छैनन्। सन् २०१८ को तलब प्याकेज भने हाल डेलावेयरको अदालतमा विवादमा रहेको छ, जसको अन्तिम निर्णय सर्वोच्च अदालतले गर्न बाँकी छ।
टेस्ला अध्यक्ष रोबिन डेनहोमका अनुसार नयाँ प्याकेज मस्कलाई कम्पनीमा सक्रिय र प्रेरित राख्न आवश्यक छ। मस्कले अघिल्लो वर्षहरूमा २० प्रतिशत मतदान अधिकार नपाए नेतृत्वमा रहन असजिलो हुने बताएका थिए।
नर्वेको १.९ ट्रिलियन डलरको सार्वभौम कोषले भने यो प्रस्तावको विरोध गर्दै “प्याकेजको अत्यधिक आकार, सेयर मूल्यमा हुने असर, र मस्कमा निर्भरता घटाउने उपायको अभाव” जस्ता कारण देखाएको थियो।
तर टेस्लाका अन्य संस्थागत र व्यक्तिगत सेयरधनीहरूले मस्कको पक्षमा मतदान गर्दै उक्त प्रस्तावलाई अनुमोदन गरेका छन्।
स्रोतः याहू फाइनान्स ।
