पहिलो क्रुज यात्राका अविस्मरणीय डोबहरु

slider, खबर, लेख, लेख

मनोज अधिकारी


बोस्टन, टेक्सस र कोलोराडोबाट सात परिवारका २९ सदस्यीय टोली फ्लोरिडाको टेम्पामा अप्रिल २२, सोमबार मध्यान्ह भेला हुँदा सबैको मुहारमा अनौठो उत्साह झल्किएको थियो । किनभने टोली एउटा विशेष यात्रामा सहभागी हुँदै थियो ।

एकै यात्राको लागि अरु हजारौं यात्रु आ–आफ्नो सपनासहित लामबद्ध भइसकेका थिए । कोही पहिलोपटक समुद्रको यस्तो यात्रामा सहभागी हुँदै थिए, कोही पहिलेको रमाइलो सम्झँदै पुनः फर्किएका थिए । तर हाम्रो २९ सदस्यीय नेपाली टोलीका लागि भने त्यो जीवनकै एक विशेष अध्याय बन्नेवाला थियो ।


हात–हातमा पासपोर्ट बोकेर सुुरक्षा जाँचका विभिन्न चरण पार गर्दै टर्मिनल तीनको रोयल क्यारेबियन इन्टरनेशनल क्रुजभित्र पस्दा हामी पाँचौं तल्लामा थियौं । सातौं तल्लाको कोठामा हातेझोला फ्यालेपछि सबैका कौतुहल पाइला क्रुजको माथिल्लो तल्लातिर उक्लिए । नवौं तल्लामा फुडकोर्ट र स्वीमिङ पुल, बार र ज्याकुजीले हजारौं यात्रुको प्रतीक्षा गरेका थिए ।

धेरैले रुचीअनुसारका परिकारको स्वाद लिन प्लेट समाए । कोही जलक्रिडातर्फ लम्किए ।

ठीक ४ बजे क्रुजले आफ्नो गति लियो । नवौं, दशौं र एघारौं तल्लामा रमाइरहेका यात्रुको बाक्लो भीडले एकै स्वरमा ‘बाई बाई टेम्पा’ भन्दै हात हल्लायो । कसैले भिडियो खिचे, कसैले फोटो खिचे । कोही समुद्रतर्फ हेरेर क्रुजको गतिसँगै आफ्नो रोमाञ्चक यात्राको कल्पनामा डुब्न थाले । कोही चर्काे संगीतको तालमा नाच्न थाले ।

समुद्रको निलो सतह चिर्दै अगाडि बढिरहेको क्रुजको गति शरीरले खासै महसुस नगर्ने रहेछ । तर आँखाले परपर सरेका दृश्यमार्फत् आफु निकै अगाडि पुगेको सन्देश दिंदै थियो । अगाडि फैलिएको पानीको संसार, पछाडि विस्तारै टाढिंदै गएको शहर, किनारका अग्ला भवन, पुल, स–साना डुंगाहरु क्रुजको गतिसँँगै केहीबेरमा क्षितिजभित्र हराउँदै गए ।

पश्चिमतर्फ सूर्यलाई पछ्याउँदै गएको क्रुजको चारैतिर केही समयपछि केवल समुद्र मात्र बाँकी रह्यो ।

अगाडि पानी, पछाडि पानी, दायाँ पानी, बायाँ पानी । केवल एउटा नौलो यात्रा । जहाँ अथाह निलो संसारको बीचमा तैरिरहेको विशाल शहरजस्तै थियो त्यो क्रुज । हजारौं यात्रु, सयौं कर्मचारी, दर्जनौं रेष्टुरेन्ट, गीत, संगीत, नाच, हाँसो, खेल, पौडी, क्यासिनो, सपिङ सेन्टर, थिएटर, बार, जिम, लाउन्ज यी सबै एउटै तैरिने संसारभित्र अटाएका थिए ।

नवौं तल्लाको फुडकोर्टमा बिहान झिसमिसेदेखि मध्यरातसम्म निरन्तर खानपान चलिरह्यो । संसारभरका विभिन्न खाले परिकारका स्वादहरुको सुगन्ध हावामा फैलिरह्यो । स्वीमिङ पुलमा हरपल पानी उछाल्दै रमाउनेको भीड भइरह्यो । ज्याकुजीको तातो पानीमा आनन्द मानेर डुब्नेहरु प्रफुल्लित देखिए ।

पाँचौं तल्लाको क्यासिनोमा सिक्काको आवाजसँगै जुवा खेलाडीमा जित–हारको उत्साह जमिरह्यो । कोही छैटौं तल्लाको बारमा संगीतको आनन्द लिंदै हुस्की, रम र टकिलाको चुस्कीमा रमरम भइरहे ।

कोही चौंथो तल्लामा डान्स गर्दैछन् । पाहुना र कर्मचारीबीच रमाइलो होस् भनेर आपसमा जोडी बाँधिएको छ । कसैको परवाह छैन, केवल संगीतको धुनमा बेजोड नृत्य चलिरहन्छ ।

कोही पाँचौं तल्लाको थिएटरमा कलाकारका प्रस्तुतिमा मग्न छन् । थरी–थरीका कला र कलाकारको प्रस्तुतीले थिएटर शान्त मुडमा चल्दो छ ।
कोही एघारौं तल्लामा वाल क्लाइमिङ् बल लगाउँदै छन् । कम्मरमा डोरी बाँधेर गाइडको निर्देशनअनुसार वाल चढ्दा आफु समुद्रमै खस्ने हो कि जस्तो हुँदो रहेछ । क्रुजको अन्तिम भित्तोमा किन राखिएको होला यो ?

कसैलाई बाहिरी दुनियाँ खासै मतलब छैन, भित्र जीम हलको ट्रेडमिलमा दौडन र फलाम उचाल्न व्यस्त छन् । त्यहीं नजिक स्पाका लागि नाम टिपाउनेहरु पर्खाइमा छन् ।

‘I’m fan of Nepal’s PM’ एउटीले हामी नेपाली हौं भन्ने थाहा पाएलगत्तै यस्तो भनिन् । हामी ट्वाल्ल पर्याैं ।

‘Who is PM in Nepal now?’ हामीले जान्न चाह्यौं ।

‘Mr. Balen, he is famous everywhere, and I’m following him on Insta’ उनले तुरुन्तै जवाफ फर्काइन् । हामी छक्क । बालेन क्रेज यहाँसम्म रहेछ, हामीले सोचेकै थिएनौं । हामी त्यहाँबाट हाँस्दै निस्कियौं ।

कोही दशौं तल्लाको फ्रण्ट डेकमाथि आँखा बन्द गरे सनबाथ लिइरहेका छन् । कोही किताब पढ्दैछन् । कोही गफिंदै छन् । कोही फुट ट्रयाकमा समुद्रको दृश्यावलोकन गर्दै हिंडिरहेका छन् । कोही बेपत्तासँग दौडिरहेका छन् । सबै आ–आफ्नै रुची र ईच्छाअनुसारको धुनमा मग्न छन् ।

कहिले एउटा तल्ला, कहिले अर्काे । जहाँ पुगे पनि रमाइलोको कुनै अन्त्य थिएन । हामी भूपरिवेष्ठित देशमा जन्मिएका अनि पहाड र हिमालबीच हुर्किएर निकै ढिलो समुद्रको देशमा आइपुगेका हौं ।

पहिले समुद्र किताबमा पढेका । टिभीमा देखेका । यसरी समुद्रको बीचमा पानीमाथि तैरिरहेको यति ठूलो जहाजमा दिन–रात बिताउने कल्पना हामीमध्ये कसैले गरेका थिएनौं होला ।

त्यसैले यो यात्रा केवल मनोरञ्जन मात्र थिएन हाम्रो लागि । जीवनको यात्रामा आफुले अहिलेसम्म पार गरेका मोडहरुको उत्सव पनि थियो यो ।
क्रुज यात्रामा जानुपर्छ भन्ने सुरुवाती योजना बनाउँदा तीन परिवार मात्र थियो पहिला । पछि बोस्टनकै दुई परिवार र टेक्सस तथा कोलोराडोका एक–एक परिवार थपिएपछि टोली २९ सदस्यीय बन्यो ।

बच्चाहरुको स्कुल छुट्टी हुने अप्रिल भ्याकेसन नै हाम्रो लक्ष्य थियो । बिदाको यही हप्ता रोज्नु बाध्यता जस्तै भयो हाम्रो लागि । नत्र क्रुज त बोस्टनबाट पनि चल्थ्यो । जुन हाम्रो रोजाईको समयमा थिएन यसपाली । त्यसैले तीन घण्टा प्लेनमा उडेर फ्लोरिडा आइपुग्नु पर्याे ।

यात्रा सुरु हुनु महिनौं अघिदेखि नै हाम्रो उत्साह छुटै भइसकेको थियो । छलफल, किनमेल, तयारी र यात्रा थालनीका प्रत्येक चरणमा हामी अभिभावक पनि बालबच्चा सँगसँगै फुरफुर गरिरहेका थियौं ।

जहाज छिरेपछि पहिले फोटो खिच्न भ्याई–नभ्याई हुँदो रहेछ । बच्चाहरु उनीहरुका साथीसँगै यताउता दौडिए । उनीहरुको लागि सिंगो जहाज नै एउटा खेल मैदान जस्तो लाग्ने रहेछ क्यार । जतिखेर पनि आफ्नै साथीसँग हुन्थे उनीहरु । हामी अभिभावक पनि आफ्नै साथीको ग्याङ्गमा भुलेका थियौं ।

हामीले यो यात्रा अवधिका लागि एउटा रोचक नियम बनाएका थियौं, कसैले इन्टरेनट सेवा नलिने । अर्थात् क्रुजमा बसिञ्जेल बाहिरी दुनियाँबाट पुरै अलग ।
न फेसबुक । न एक्स । न समाचार । न टिकटक । न क्रुज बाहिरका कोही कसैसँग सम्पर्क । केवल आफु, आफ्ना साथी, परिवार, समुद्र र रमाइलो । यो निर्णयले यात्रालाई अझ विशेष बनायो । किनभने आजकल इन्टरनेटले हामीलाई आफ्नै नजिककाहरुबाट टाढा बनाउँदै लगेको छ । भन्नलाई सोसल मिडिया भने पनि यसले उल्टो हामीलाई सोसल हुनबाट रोकेको छ ।

एकसाता क्रुजमा रहुञ्जेल मोबाइलबाट बाहिर निस्कियौं । यसले हामी बीच सँगै रहने समय बढ्यो, गफ बढ्यो र हाँस्यो बढ्यो ।

क्रुजको व्यवस्थापन र कर्मचारी पक्ष तारिफयोग्य थियो । कर्मचारीहरु सरल, सहयोगी र हँसिला थिए । हामी नेपालीको ठूलै समूह देखेर उनीहरु दंग परे । र हामीलाई पनि उल्टै दंग पारिदिए । क्रुुजका सेफ नै नेपाली युवा पो रहेछन् । नेपाली पाहुना छन् भन्ने सूचना पाएलगत्तै किचेनबाट सेफ पोशाकमै दौडेर काठमाडौ साँखुका विकास कार्की हाँस्दै आइपुगे ।
महिनौंसम्म नेपालीसँग भेट्न नपाएका विकास हामीलाई भेटेपछि एकैपल्ट भावुक अनि खुशी देखिए । उनले भने, “आठ महिनापछि नेपालीसँग भेट्न पाएको छु दाइ…. ।“
उनी आठ महिनादेखि लगातार क्रुजमै काम गरिरहेका रहेछन् । क्रुजको नियमअनुसार लगातार नौ महिना काम गर्नुपर्ने रहेछ । त्यसपछि मात्र बिदा । बिदामा घर आउजाउको बन्दोबस्त भने क्रुज व्यवस्थापनले गरिदिने रहेछ ।

अर्काे संयोग पनि रोचक बन्यो । नवौं तल्लामा एकजना चिनेजस्तो व्यक्ति देखिए । उनी अलि अगाडि पुगे । म अलि अगाडि । दुवैले फर्केर हेर्दा हाम्रा आँखा जुघे । सुरुमा हो कि होइन भन्ने भयो । किनभने त्यसरी भेट होला भन्ने सोचेकै थिएन । क्यानडा बस्ने पुराना मित्र सुरज खनाल परिवारसहित आएका रहेछन् । एकछिन हाँसो र खुशी साटासाट भो ।


राति क्रुजको माथिल्लो डेकमा पुग्दा संसार बेग्लै देखिन्थ्यो । समुद्र बीचको अँध्यारोमा आकाशका ताराहरु निकै चम्किलो र आकर्षक लाग्थे । कतै तिनले हामीलाई हेरिरहेजस्तो भान हुन्थ्यो । डेकमा बसेर निकैबेर हेरिरहँदा यस्तो देखिन्थ्यो, मानौं आकाश झरेर समुद्रमा मिसिएको छ ।
राति अबेरसम्म माथिल्ल्लो डेकमा घरी टहलिंदै, घरी पानीले जहाजको फेदमा हानेर बनाएको लहर नियाल्दै, बारको छेउछाउमा दारु पिउनेहरुको हाउभाउ नियाल्दै हामी गफिन्थ्यौं ।

दुई दिन समुद्रमा बिताएपछि तेस्रो दिन क्रुज मेक्सिकाको कोस्टा माया किनारमा पुगेर रोकियो । समुद्रको निलो पानीसँगै हरियो किनारा देखिएपछि सबै उत्साही भए । हामीले पहिल्यै माया सभ्यता अवलोकन गर्ने प्याकेज बुक गरेका थियौं । आरामदायी गाडीमा बसेर हामी पुरानो सभ्यताको इतिहास बुझ्न अघि बढ्यौं । गाइड निकै जानकार थिए । उनी प्रत्येक ढुंगा, प्रत्येक भग्नावशेष, प्रत्येक मुर्तीको कथा चालखाग्दो ढंगले सुनाउँथे । हामी इतिहास सुन्दै मेक्सिकाको गर्मी खप्दै अघि बढिरह्यौं ।

बोस्टनमा भर्खर हिउँद् सकिए पनि मौसम तान्न बाँकी नै थियो । तर त्यहाँ ८५ डिग्री फरेनहाइटको गर्मी हामीले खप्नु थियो । तैपनि नयाँ ठाउँ र नयाँ इतिहासको उत्साहले थकान महसुस हुन दिएन ।
हाम्रा राजमार्गहरुमा काँक्रो, सुन्तला, उखु, केरा बेच्न राखेजस्तै त्यहाँ पनि स्थानीय फलफूल बेच्नेहरु हुँदा रहेछन् । फर्कँदा हामीले गाडी रोक्न लगाएर भुईँकटहर, आँप, नरिवल खायौं । त्यो स्वादमा यात्राको मिठास मिसियो ।

साँझ फेरि क्रुज अघि बढ्यो । क्रुजको पछाडि पानीको सेतो छालमा चन्द्रमाको उज्यालो चम्किन थाल्यो । क्रुज भित्र भने नियमित रमझम चलिरह्यो ।
भोलिपल्ट बिहान उठ्दा क्रुज मेक्सिकोकै अर्काे पोर्ट कोजुमेल पुगिसकेको थियो । ब्रेकफास्ट लिएर क्रुजबाट निस्कँदा ९ बजिसकेको हुँदो हो । त्यहाँ पनि हामीले बग्गी टुरसहितको दिनभरको प्याकेज लिएका थियौं । १० बजे टुर गाइडलाई भेट्नु थियो ।

पोर्टबाट मेक्सिको छिरेपछि केहीबेर गाइड खोज्न अलमल भो । पछि उनीहरु हामीलाई खोज्दै आइपुगे । एक परिवारका लागि एउटा बग्गी तयारी अवस्थामा लाइन लगाएर राखिएको रैछ । ओपन स्टाइलको बग्गी आफैं चलाएर करिब ६० किलोमिटरको यात्रा गर्नुपर्ने त्यो टुर रोमाञ्चक नै रह्यो । सुरुमा समुद्री किनार हुँदै अघि बढेको बग्गी केहीबेर हाइवे अनि त्यसपछि धुलाम्मे कच्ची बगरै–बगर कुदाइयो । हाम्रा बच्चाहरुको लागि त्यो अनुभव बिल्कुल नौलो थियो । तैपनि उनीहरु डराएनन्, बरु रमाइलै माने ।

बग्गी यात्राको गन्तव्य क्यारेबियन समुद्रको निलो र कच्चन पानीको बगर थियो । त्यो पानीको रंग अविश्वसनीय थियो । निलो पनि, हरियो पनि, पारदर्शी पनि । पानी यति सफा थियो कि पिँध पुरै देखिन्थ्यो ।

ताजा नरिवलको पानी घुट्क्याएपछि जिउभरी सनस्क्रिन घसेर हामी समुद्रमा पस्यौं । पानी कञ्चन भए पनि नूनिलो असाध्यै । नूनिलो पानीले शरीर तर पुरै नूनिलै बनायो होला, तर त्यो आनन्द वर्णनभन्दा पर थियो ।

तथापि कोजुमेलको टुर अपेक्षाअनुरुप सन्तोकको रहेन । प्याकेजमा भनिएका सबै सुविधा गाइडले उपलब्ध गराएनन् । न खाना गतिलो भयो, न लैजानु पर्ने अरु गन्तव्यमा लगे । जसले हामीलाई केही खिन्न बनायो । तर यात्राको समग्र रमाइलो यति विशाल थियो कि त्यो असन्तुष्टि समुद्रको एउटा सानो छालझैं हराएर गयो । जसै हामी क्रुजमा फर्कियौं, अपेक्षाभन्दा धेरै कुरा बरु त्यहींभित्र पायौं ।

फेरि संगीत, हाँसो, खाना, रमझम सबै दुरुस्त चालु भए । अबको क्रुज फन्को मारेर फ्लोरिडाको टेम्पातर्फ मोडियो । हामीसँग ३६ घण्टा मात्र बाँकी थियो । सुरुमा छ दिन धेरै होला कि भन्ने सोचेका हामीहरु, लौ फर्किने बेला आइसक्यो भन्ने अवस्थामा पो पुग्यौं । अर्थात् यात्रा अझै जारी रहोस् भने जस्तो हुने रहेछ अन्तिम दिनहरुमा । जे होस् बाँकी अवधिलाई पनि उत्तिकै यादगार बनाउन कुनै कसर बाँकी राखिएन ।

टेम्पा उत्रने अघिल्लो साँझ एघारौं तल्लाको शान्त लाउन्जमा हाम्रो बैठक बस्यो । हामीले क्रुजका हरेक रमाइला पक्षको चर्चा गर्याैं । कोस्टा माया र कोजुमेल प्याकेजको समीक्षा गर्याैं । यस्तो यात्रामा साथीहरुको जति ठूलो समूह, त्यो बढी रमाइलो हुने रहेछ भन्ने अनुभव बाँड्यौं । यस सामुद्रीक यात्राको योजना बनाउने, पहल थाल्ने, साथी सर्कलमा आव्हान गर्ने र सहभागी हुने सबैलाई सबैले पालैपालो धन्यवाद साट्यौं ।

बैठक त्यतिमा मात्र टुंगिएन, अर्काे महत्वपूर्ण निर्णय पनि भो–“फेरि अर्काे क्रुज यात्रा जाने ।“
केही यात्रा केवल गन्तव्यका लागि मात्र हुँदैनन्, ती अनुभूति संगाल्ने र जीवन अझ गहिरो गरी बुझ्ने मौका बन्छन् ।
यसपटकको समुद्री यात्राले हामीलाई सिकाएको मुख्य कुरो यही हो, जीवनमा कहिलेकाहीं मोबाइल बन्द गरेर, समय टक्क रोकेर, आफ्ना प्रिय मानिसहरुसँग हाँस्न, रमाउन र बाँच्न आवश्यक रहेछ । हैन त ?

प्रकाशित मिति : मे ९, २०२६