पत्रकारका नाममा

slider, लेख, लेख

एकपटकको पत्रकार सधैं पत्रकार?

मनोज अधिकारी
साउन २

कोरोना महामारी संकटले अहिले मानव स्वास्थ्यसँगै विश्व अर्थतन्त्र तहसनहस पार्दै लगेको छ। विश्वका मै हुँ भन्ने स्थापित कम्पनीदेखि ठूल्ठूला घरानासम्म यसको चपेटामा परेका छन्। अर्थतन्त्र चौपट भएसँगै रोजगारीमा व्यापक कटौती भएको छ। भविष्यमा परम्परागत रोजगारीको शैलीमा आमूल परिवर्तन हुने सम्भावना टड्कारो हुँदै गएको छ।

कोरोना कहरले ठूलादेखि साना मुलुकमा आर्थिक मन्दीको मार सुरू भइसकेको छ। यसको दीर्घकालीन असर विश्वले भोलिका दिनमा कसरी र कुन रूपमा झेल्ने हो, अझै प्रष्ट छैन। नेपाल पनि यो परिदृष्यबाट बाहिर छैन।

उद्योग व्यवसायदेखि शैक्षिक तथा सामाजिक संघ, संस्था, विकास निर्माण, पर्यटन, सञ्चार लगायत जुनसुकै क्षेत्र अहिले नराम्ररी थला परेका छन्। अहिलेको आर्थिक अधोगति कर्मचारीवर्गको मात्र होइन, रोजगारदाताको समेत हो।

अरू सबै पेशा, व्यवसाय र क्षेत्र छाडेर केहीबेर नेपाली पत्रकारिता क्षेत्रको कुरा गरौं।

पहिले आफ्नै कुरा।

२०६१ साल माघ १९ गते शाही घोषणासँगै एफएम रेडियोको समाचार प्रशारणमा रोक लाग्यो। समाचार बजाउनै नपाउने भएपछि समाचार कक्षको हालत भनिसाध्य भएन। यही कारण देशभरका एफएम रेडियोबाट सयौं पत्रकार निकालिए। कोही बेतलबी बिदामा बस्ने गरी घर पठाइए। कोही भविष्यमा समाचार बज्ने भए फर्कन पाउने गरी निकालिए। कोही सधैंका लागि बिदा भए।

एक हिसाबले भन्ने हो भने समाजमा अरू वर्गभन्दा पत्रकार सर्वज्ञाता हुन्छ। उसलाई राज्य संयन्त्रका सबै सूचना थाहा हुन्छ। उसले राज्यको अर्थ व्यवस्था, राजनीतिक तथा सामाजिक अवस्था, सुरक्षा र व्यापारको क्षेत्रबारे धेरथोर जानेकै हुन्छ। हरेक क्षेत्र र तप्काको सूचनामा उसको पहुँच हुन्छ। जुन उसको अहिलेसम्मको सबैभन्दा ठूलो कमाई पनि हो। यही कमाईलाई उसले आफूले चाहेको वा समय सुहाउँदो कुनै क्षेत्रमा लगाउन सक्छ। अहिले यो उसका लागि एउटा सुनौलो मौका पनि हो।

तीमध्ये कयौं पत्रकारिता पेसाबाटै पलायन भए। उनीहरु आफू सुहाउँदो अन्य पेसा र क्षेत्रतर्फ लागे। त्यतै स्थापित भए। त्यतिबेला रेडियोको अनिश्चित भविष्य देखाएर बेतलबी बिदा हुनेमध्ये म स्वयं एक थिएँ।

मुलुककै अग्रणी कान्तिपुर पब्लिकेसन्स् अन्तर्गतको कान्तिपुर एफएममा कार्यरत थिएँ। हामी करिब एकदर्जन पत्रकार समाचार कक्षमा थियौं। लगभग देशभर कभरेज रहेको त्यो रेडियोको क्रेज बेग्लै थियो। माघ १९ मा सेनाको बुट स्टुडियोसम्मै पुगेपछि समाचार बुलेटिनसँगै त्यो क्रेजमै ब्रेक लाग्यो।

त्यसपछिका केही साता अन्यौलमै बिते। हामीमध्ये कोहीलाई केही साता र महिनाको अन्तरालमा कान्तिपुर दैनिक र कान्तिपुर टिभीमा मिलान गरियो। म बेरोजगारीको तीन महिनापछि कान्तिपुर दैनिकमा पुगेँ।

स्वतन्त्र प्रेसको पक्षमा विभिन्न चरण र प्रकृतिका आन्दोलन र मुद्दा मामिला चल्दै गए। अर्काे तीन महिनापछि परिस्थिति बदलिँदै गयो। सर्वाेच्च अदालतको बलमा २०६२ साउन अन्तिम साताबाट एफएमहरूमा पुनः समाचार बुलेटिन बज्न थाले।

कान्तिपुर एफएममा भदौ पहिलो साताबाट पूर्ववतः कान्तिपुर डायरी सुरू गर्ने निधो भयो। त्यसका लागि म फेरि पुरानै ठाउँ फर्किएँ। केही वर्ष त्यहीँ रहेँ। कान्तिपुर विभाजनपछि म नागरिक दैनिक पुगेँ।

अहिले कोरोना महामारीले अन्य क्षेत्रजस्तै नेपाली सञ्चार क्षेत्र फेरि एकपल्ट महासंकटमा फसेको छ। उतिबेला ज्ञानेन्द्र शाहको महत्वकांक्षाले सृजित राजनीतिक संकट प्रमुख कारक थियो। सैन्य कु मार्फत् संकटकाल लादेर स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने उनको प्रयास ढिलोचाँडो अन्त्य हुने लगभग पक्का थियो।

अहिले कोरोना महामारी कसैको लहड वा रहरले सृजित परिस्थिति होइन। यसले सर्वत्र आर्थिक संकट निम्त्याएको छ। ढिलो, चाँडो यसको पनि अन्त्य अवश्य होला। कोरोनाले अरूजस्तै सञ्चार क्षेत्रको मुटुमै प्रहार चाहिँ गरेको छ। यही प्रहार थेग्न नसकेर कति सञ्चारमाध्यम माटोमा मिल्ने हुन् भन्ने निश्चित छैन। दृश्यमा यसका संकेत पक्कै सुखद् छैनन् भन्ने झल्किन थालिसिकेको छ।

यो नेपालको मात्र अवस्था होइन। जुनसुकै ठाउँ, क्षेत्र र विधाको हालत लगभग उही हो। संसारभर खुम्चिँदो अर्थतन्त्र र बढ्दो बेरोजगारी यसको उदाहरण हो।

संसारकै ठूल्ठूला विमान निर्माता कम्पनीदेखि हवाई सेवा दिने निकायसम्मले लाखौं रोजगारी कटौती गरिरहेका छन्। ठूला चेन होटल तथा रेस्टुरेन्टदेखि समग्र पर्यटन र बैंकिङ क्षेत्रको हालत उस्तै छ। निजी तथा सरकारी कार्यालयदेखि साना, ठूला सबै व्यवसायमा यसको प्रभाव सर्वत्र छ। ती सबै निकाय र क्षेत्रबाट अहिले हजारौं, लाखौं कर्मचारी तथा मजदुरले हात धुनु परेको छ।

आखिर व्यवसाय चले न रोजगारी रहने हो। व्यवसाय नै चौपट हुने अवस्थामा पुगेपछि रोजगारीको कुरै भएन। यो विशाल विषयमा अहिलै धेरै कुरा गर्ने बेला छैन। म आफू १२ वर्ष संलग्न नेपाली पत्रकारिता क्षेत्रकै विषयमा कुरा गर्दैछु।

त्यतिबेला ज्ञानेन्द्र शाहले लेख्ने र बोल्ने स्वतन्त्रता अपहरण गरेका थिए। स्वतन्त्र बोल्न र लेख्न नपाइने अहिलेको अवस्था होइन। अहिले त विज्ञापनको बजार सुकेको हो। सुकेको बजारमा केही मिडिया खुम्चिएका र केही बन्द भएका हुन्। आशा छ, यो अवस्था पनि भोलि सुधार भएर आउने छ। अथवा केही सञ्चारमाध्यममा काँटछाँट वा पुनर्संरचना हुनेछ।

मलाई लाग्छ, सञ्चार क्षेत्रको अवस्था उबेलामा अहिलेभन्दा अनिश्चित र विकराल थियो। अहिले धेरै मिडियाबीच सीमित बजारका कारण तीव्र प्रतिस्पर्धा होला। इन्टरनेट र अनलाइन मिडियाका कारण पत्रपत्रिका, रेडियो र टिभीको बजार र क्रेज घट्दो होला। त्यसमाथि ठप्प प्रायः रहेको आर्थिक गतिविधिले विज्ञापन प्रवाह उल्लेख्य घटेर सञ्चार क्षेत्र संकटमा परेको सत्य हो।

संसारभर निजी तथा सरकारी कार्यालय सीमित मात्र खुलेका छन्। उद्योग, व्यापार र व्यवसाय भारी कटौतीमा परेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान, सडक यातायात तथा समुद्री मार्ग लगभग सुनसान छन्। होटल, रेस्टुरेन्ट लगायत पर्यटन क्षेत्र समेत ठप्प प्रायः छ।

यस्तो अवस्थामा सञ्चार क्षेत्र अछुतो हुने कुरै भएन। आखिर सबै क्षेत्र र व्यवसाय चले नै सञ्चारमाध्यम बाँच्ने हुन्। पत्रपत्रिका, रेडियो, टिभी र अनलाइनमा विज्ञापन ७० देखि ८० प्रतिशतसम्म घटेको आँकडा छ।

कोरोनाकै कारण देशभर सयौं पत्रपत्रिकाको प्रकाशन महिनौंदेखि ठप्प छ। काठमाडौंमा केही दैनिक पत्रिका छापिए पनि विज्ञापन स्रोत र बजार नहुँदा १६, १८ वा २० पेजबाट ८ पेजमा खुम्चिएका छन्। केहीले अनलाइन पोर्टल र यूट्युब चलाएर जेनतेन धान्ने प्रयास गरेका छन्।

हिजो नाफा कमाएको भनिएका सञ्चार गृहको हालत पनि नाजुक हुँदैछ। उनीहरूका लागि नियमित संरचनागत खर्च तथा पत्रकार र कर्मचारीको तलब लामो समय धान्न पक्कै सजिलो छैन। जटिल बन्दै गएको परिस्थितिमा लगानीकर्ताले निश्चित भविष्य नदेखेर अहिलै हात उठाउनु अस्वभाविक होइन। अर्कातिर विगतको नाफालाई अहिले आफ्ना कर्मचारी जोगाउन प्रयोग गर्नुपर्ने तर्क पनि अन्यथा होइन। सक्ने र सम्भव हुनेले यो गर्दा पक्कै राम्रो हो।

कतिपयले मालिकका लागि २, ४ करोड रुपैयाँ केही होइन भन्ने टिप्पणी गरेका छन्। कुनै व्यवसायीले करोडौं रूपैयाँ घरमा लिएर बस्दैन। अन्य व्यवसायमा गरेको लगानीको हालत पनि अहिले उस्तै हो। मालिकको घर र गाडी हेरेर परिस्थितिको आकलन गर्नु सही होइन।

कतिपयलाई अहिले कोरोना एक बहाना बनेको हुन सक्छ। घाटामा गएका वा सुखद् भविष्य नदेखेका प्रकाशन बन्द गर्नु यो उपयुक्त बेला लाग्न सक्छ। लगानीकर्ताले अब यसबाट प्रतिफल आउँदैन भन्ने लागेपछि त्यो व्यवसाय बन्द गर्नु उसको रोजाइको कुरा हो। भलै त्यसको कानुनी बाटो र संस्थागत दायित्वबाट ऊ पन्छिन पाउँदैन।

अहिले केही दैनिक, साप्ताहिक तथा मासिक पत्रिका बन्द हुनुका यिनै कारण हुन्। यस्तै अवस्था रहे भोलि अरू टिभी, रेडियो वा अनलाइन पनि बन्द नहोलान् भन्न सकिन्न। यो अर्थतन्त्रको दिशा र सूचकले निर्धारण गर्ने पाटो हो। सवल अर्थतन्त्रनै विज्ञापनको स्रोत हो। र विज्ञापन नै मिडियाको प्राण हो।

यी सबै परिदृष्यप्रति पत्रकार पूर्णजानकार छन्। आफू कार्यरत मिडिया हाउसको अवस्था पनि तिनलाई राम्ररी थाहा छ। हामी पत्रकार पनि वर्षाैंदेखिको मिडिया छाडेर केही बढी तलब अफर गर्ने अर्कामा, आजको भोलि नै जान्छौं। यो स्वभाविक प्रक्रिया हो। सबैले उचित समयमा आफ्नो फाइदा वा सुविधा हेर्ने हो।

एकपटकको पत्रकार सधैं पत्रकार?

अहिले बेरोजगार भएर पत्रकार चाहिँ कहाँ जाने? यत्रो वर्ष पत्रकार भइयो अब के गर्ने? संकटका बेलामा बेवास्ता गर्न कहाँ पाइन्छ? अहिले यस्ता प्रश्न पनि उठेका छन्। यी स्वभाविक प्रश्न हुन्।

सर्वत्र संकटको घडीमा बेरोजगार हुँदा तत्काल जाने कुनै ठाउँ हत्तपत्त हुँदैन। यस्तो बेलामा पत्रकारले आफूलाई केही समय धैर्य राख्न सक्छ। उसले आफूजस्तै अरू पनि धेरै पेशा, व्यवसाय र क्षेत्रका कर्मचारी तथा मजदुरको अवस्था देखेकै हुन्छ।

जस्तोसुकै अवस्थामा आफू सधैं पत्रकार रहिरहनु पर्छ भन्ने मान्यता उचित हुँदैन। हो भने, राम्रो र क्षमतावान् पत्रकार हत्तपत्त बेरोजगार हुँदैन। अर्काे मिडियाको सम्पादकले उसलाई तत्काल टिप्न खोजेकै हुन्छ। आज वा भोलि अवस्था सहज हुनासाथ उसको खोजी भईनै हाल्छ।

कतिपयले १० वर्ष, १५ वर्ष वा २० वर्ष एउटै सञ्चारगृहमा काम गरेका छन्। मालिक धनी भए पनि आफू सधैं उस्तै भन्ने केहीको गुनासो पनि यदाकदा सुनिन्छ। यो त उसले आफूलाई समयअनुसार बदल्न नसक्नुको उपज पनि हो।

एक हिसाबले भन्ने हो भने समाजमा अरू वर्गभन्दा पत्रकार सर्वज्ञाता हुन्छ। उसलाई राज्य संयन्त्रका सबै सूचना थाहा हुन्छ। उसले राज्यको अर्थ व्यवस्था, राजनीतिक तथा सामाजिक अवस्था, सुरक्षा र व्यापारको क्षेत्रबारे धेरथोर जानेकै हुन्छ। हरेक क्षेत्र र तप्काको सूचनामा उसको पहुँच हुन्छ। जुन उसको अहिलेसम्मको सबैभन्दा ठूलो कमाई पनि हो। यही कमाईलाई उसले आफूले चाहेको वा समय सुहाउँदो कुनै क्षेत्रमा लगाउन सक्छ। अहिले यो उसका लागि एउटा सुनौलो मौका पनि हो।

कोही पत्रकारलाई आफूले एउटा अल्लारे बेलाको रहर वा भुलभुलैयामा पत्रकारिता गरेर समय खेर फालेको लागेको भए यो बाटो बदल्ने राम्रो अवसर पनि हो। कतिपयले बेलैमा यसरी पत्रकारिता छोडेर सरकारी सेवा वा निजी क्षेत्रमा आफूलाई अब्बल बनाएका छन्। बैंकिङ, पर्यटन, सूचना प्रविधि लगायत क्षेत्रमा सक्षम जनशक्तिको सदैव माग उच्च हुन्छ। कृषि तथा अन्य व्यापार, व्यवसायमा लागेर उन्नति गर्नेहरू धेरै छन्।

कोही कसैलाई ‘म पत्रकार हुँ, मैले अरु काम गर्नै हुन्न’ भने हिनताबोध छ भने त्यो बेग्लै कुरा हो। ऊ आफू चौथो अंग भन्ने भ्रमले सधैं थिचिएको हुन सक्छ। एकपटकको पत्रकार सधैं पत्रकार भन्ने अहम् र भ्रम तत्काल हटाउन सकेन भने उसले यस्ता धेरै मौका र अवसर गुमाउने निश्चित छ।

उसले के बुझ्नु पर्छ भने अहम् पाल्नु र भ्रममा बाँच्नु बेरोजगार हुनुभन्दा ठूलो समस्या हो।

पत्रकारिताको यस्तै अहम् र भ्रम छोडेर अरू पेशा, व्यवसाय र क्षेत्रमा लाग्नेले पहिलेभन्दा निकै राम्रो गरेका उदाहरण कैयन् छन्। अरू क्षेत्र र पेशामा रहँदा पनि स्वतन्त्र लेखन जारी राख्ने विकल्प सधैं छँदैछ।

पत्रकारिता संकटमा पर्‍यो, म महासंकटमा परेँ भनेर बस्नु सान्दर्भिक समाधान होइन। पत्रकारिता बाहेक पनि अरू धेरै क्षेत्र छन् भन्ने ठानेर अघि बढ्यो भने एक न एक सही बाटो अवश्य भेट्न सकिन्छ।

जस्तैः आजको एक पत्रकारले नविनतम् प्रविधि र विधि प्रयोग गरेर जुनसुकै उद्यम गर्न सक्छ। सुरूआतमा सानै किन नहोस्, ऊ सफल उद्योगी वा व्यवसायी बन्न सक्छ।

उदाहरणका लागि लामो समय पत्रकारिता गरेका हाम्रै कैयन् चिरपरिचित नामले नेपाल तथा विदेशमा आफूलाई विल्कुल नयाँ क्षेत्रमा सफलतापूर्वक स्थापित गरेका छन्। त्यसैले एकपटकको पत्रकार सधैं पत्रकारै हुनुपर्छ भन्ने सोच र भ्रम च्यातेर अलि पर हेर्ने प्रयास समयानुकूल गर्नैपर्छ।

नत्र आँखै अगाडिका धेरै सम्भावना हामीले नदेखेरै गुम्दै गइरहेका हुन सक्छन्।

के थाहा, ती सम्भावना तपाईंलाई नै पर्खेर बसेका छन् कि?

(लेखक, अमेरिकाको बोस्टनमा बस्छन्।)

सेतोपाटी डट कम मा २०७७ साउन २ गते प्रकाशित

https://www.setopati.com/blog/211457

Leave a Reply