नेपालमा १६ खर्ब रुपैयाँ र अमेरिकामा ६० खर्ब डलरको बजेट सार्वजनिक

खबर

नेपाल र अमेरिकामा एकैदिन बजेट सार्वजनिक

बोस्टन अमेरिका
मे २९, २०२१

नेपाल र अमेरिकामा एकैदिन आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिएको छ । नेपालमा शुक्रबार अर्थमन्त्री विष्णु पौडेल र अमेरिकामा राष्ट्रपति जो बाइडेनले आगामी आर्थिक वर्षका लागि आ आफ्नो बजेट योजना सार्वजनिक गरेका हुन् ।

नेपालमा १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । यता अमेरिकामा ६ ट्रिलियन अर्थात् ६० खर्ब डलरको बजेट योजना सार्वजनिक गरिएको छ ।

दुवै मुलुकले विद्यमान स्वास्थ्य संकटलाई सम्बोधन गर्दै यस क्षेत्रमा उल्लेख्य बजेट छुट्याएका छन् । नेपालमा अर्थमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एक खर्ब २२ अर्ब रुपैयाँ छुट्याएका छन् । यस्तै कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि ३७ अर्ब रुपैयाँ छुट्याएका छन् । खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आर्थिक वर्ष २०२२ का लागि ६० खर्ब डलर खर्च योजनासहितको बजेट सार्वजनिक गरेका हुन् ।

गतबर्षको तुलनामा यो ८ दशमलव ६ प्रतिशतले बृद्धि हो । गतवर्ष डोनाल्ड ट्रम्पले ४८ खर्ब डलरको बजेट योजना ल्याएका थिए । यसपटकको बजेटमा बाइडेनले ठूल्ठूला सामाजिक कार्यक्रम बढी बजेट खर्च गर्ने योजना अघि सारेका छन् । यस्तै जलवायु परिवर्तनको क्षेत्रमा पनि धेरै लगानी गर्ने प्रस्ताव यो बजेटमा छ ।

यसका लागि ठूला र धनी कम्पनीहरुमाथिको करको दर निकै बढाइएको छ । रिपब्लिकन पार्टीले आवश्यकताभन्दा ठूलो बजेट योजना ल्याएको भन्दै आलोचना गरेको छ ।

यो बजेट योजनामा अमेरिकी नागरिकको सार्वजनिक स्वास्थ्य र आर्थिक संकटसँग जुध्न बढी ध्यान केन्द्रीत गरिएको छ । बजेटको मुख्य प्राथमिकता पूर्वाधार, शिक्षा, अनुसन्धान, जनस्वास्थ्य, पारिवारिक बिदा र बाल हेरचाह लगायतका क्षेत्रमा ठूलो लगानी गर्नेछ।

यो बजेट कार्यान्वयनमा आउनुअघि संसद्को माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ । हुन पनि यो बजेट दोस्रो विश्वयुद्ध बेलाको भन्दा बढी खर्च योजना उल्लेख भएको बजेट हो ।

बाइडेनको बहुचर्चित योजनाअन्तर्गत २३ खर्ब डलरको रोजगारी योजना र १८ खर्ब डलरको परिवारमा आधारित अनुदान तथा सहयोग सम्बन्धी योजना पनि यो बजेटमा परेका छन्।

बाइडेनको बजेट योजना यस्तो छ :

  • ८ खर्ब डलरभन्दा बढी रकम स्वच्छ उर्जा तथा जलवायु परिवर्तनविरुद्धको योजनामा लगाउने
  • २ खर्ब डलर चार वर्षभन्दा मुनिका बालबालिकाको निःशुल्क प्रिस्कुलमा खर्च गरिने
  • १ खर्ब ९ अर्ब डलर सबै अमेरिकी विद्यार्थीको लागि सामुदायिक कलेजमा दुई वर्षे निःशुल्क शिक्षामा लगानी गरिने
  • २ खर्ब २५ अर्ब डलर लाखौं अमेरिकी परिवारलाई भत्ताका रुपमा लगानी गरिने
  • १ खर्ब १५ अर्ब डलर सडक, राजमार्ग र पुलहरूको निर्माण, पूननिर्माणमा लगानी गरिने
  • १ खर्ब ६० अर्ब डलर सार्वजनिक यातायात र रेल सेवा विस्तार तथा सुधारमा लगानी गरिने
  • १ खर्ब डलर हरेक अमेरिकीको घरघरमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच सुधार गर्न खर्च गरिने

प्रकाशित मिति : मे २९, २०२१

Leave a Reply