अमेरिकामा ६ करोड मानिस हिमआँधीको चपेटामा

खबर

हवाई, सडक र विद्यतु सेवा प्रभावित हुने चेतावनी


बोस्टन, अमेरिका
डिसेम्बर १६, २०२०

अमेरिकाको उत्तरपूर्वी क्षेत्रका केही राज्यमा बुधबार र बिहीबार ठूलो हिमपात र समुद्री आँधीको चेतावनी दिइएको छ ।
बुधबार साँझ सुरु भई बिहीबार दिउसोसम्म चल्ने हिमआँधीले यस क्षेत्रका कैयन् राज्यमा केही फिट हिउँ पर्नुका साथै जनजीवन प्रभातिव पार्ने मौसम पूर्वानुमान केन्द्रले चेतावनी दिएको छ ।

न्यूयोर्क र बोस्टन क्षेत्रमा कम्तिमा एक फिट हिउँ पर्ने र अन्यत्र १६ इन्चसम्म हिउँ पर्ने केन्द्रको अनुमान छ । सिजनको यो दोस्रो ठूलो हिमपात हुन लागेको हो । गत अक्टोबार ३० मा यो सिजनको पहिलो हिमपात भएको थियो ।

सबैभन्दा धेरै हिमपात यस क्षेत्रका न्यूयोर्क, न्यूजर्सी, फिलाडेल्फिया, बोस्टन लगायत ठूला सहरमा हुने अनुमान छ । यी सहरहरुमा सञ्चालित आउटडोर डाइनिङ पनि हिमपातका कारण बन्द हुने भएका छन् । हिमपातले मध्य अटलान्टिक र उत्तरपूर्वी अमेरिकाका ६ करोडभन्दा बढी बासिन्दालाई प्रत्यक्ष प्रभावित तुल्याउने छ ।

यसको प्रत्यक्ष असर सरकारी तथा नीजि कार्यालयदेखि साना ठूला व्यापार व्यवसायमा समेत पर्नेछ । कोरोनाका कारण हाल कठिन अवस्थामा रहेको अमेरिकालाई यसपल्टको जाडोयाम थप कष्टकर हुनेछ ।

पेन्सिल्भेनिया, न्यूजर्सी, न्यूयोर्क, मासाचुट्सेस, फिलाडेल्फिया लगायत राज्यमा बाक्लो हिमपात र समुद्री आँधी आउने भएकाले सावधानी अपनाउन केन्द्रले अपिल गरेको छ । हिमआँधीका कारण मुख्यत हवाई तथा सडकमार्ग प्रभावित हुने र कतिपय स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुन सक्नेछ ।

गत अक्टोबार ३० मा यो सिजनको पहिलो हिमपात तस्विर : मनोज अधिकारी

यो हिमआँधीले पूर्वी जर्जियादेखि न्यूयोर्क हुँदै मासाचुट्सेस लगायत क्षेत्रमा एक हजार माइल लामो यात्रा तय गर्नेछ । जसका कारण पूर्वी अमेरिकाका कैयन् राज्यमा आँधीबेहरीसहित बाक्लो हिउँ पर्नेछ ।

प्रकाशित मिति : डिसेम्बर १६, २०२०

Leave a Reply