अमेरिकामा मोडेर्नाको खोप अनुमोदित, एफडीएले छिटै स्वीकृत गर्ने

लेख, लेख

बोस्टन, अमेरिका
डिसेम्बर १७, २०२०


कोरोना भाइरसविरुद्ध लड्न अर्काे अमेरिकी कम्पनी मोडेर्नाको खोपले आपतकालिन प्रयोगको अनुमति पाउने भएको छ ।

अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडीए) सल्लाहकार समितिले खोपसम्बन्धी आवश्यक अध्ययनपछि एफडीएलाई बिहीबार अनुमतिका लागि सिफारिस गरेको हो । यो खोप १८ वर्षभन्दा माथिको उमेरकालाई सुरक्षित हुने भनिएको छ ।

बिहीबार सल्लाहकार प्यानलका २१ मध्ये २० सदस्यले मोडेर्नाको खोप अनुमोदनको पक्षमा मत दिएका छन् । एकजना भने तटस्थ रहे । यसअघि फाइजरको खोपका पक्षमा १७ मत, विपक्षमा ४ मत परेको थियो ।


फाइजरको खोपलाई अनुमति दिन सिफारिस गरेको ठीक सातामै विशेषज्ञहरुको बैठकले मोडेर्नाको खोप पनि उत्तिकै प्रभावकारी र सुरक्षित ठहर गरेको छ । यो सिफारिसपछि एफडीएले छिटै मोडेर्नाको खोपलाई अमेरिकाभर तत्काल प्रयोग गर्न स्वीकृत प्रदान गर्नेछ ।

अमेरिकामा कोरोनाविरुद्ध प्रयोग हुने यो दोस्रो खोप हो । यसअघि फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको खोप गत शुक्रबार एफडीएबाट स्वीकृत भई सोमबारदेखि प्रयोगमा आइसकेको छ ।

फाइजरको खोप ९५ प्रतिशत र मोडेर्नाको खोप ९४ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको पाइएको छ । अनुमति पाएलगत्तै अमेरिकाभर खोप ढुवानी गर्न तयार अवस्थामा रहेको मोडेर्नाले जनाएको छ ।

आपतकालिन प्रयोगअन्तर्गत हाल अमेरिकाका अधिकाँश राज्यस्थित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा ८० वर्षमाथि सिकिस्त विरामीलाई फाइजरको खोप लगाउन थालिएको छ । यसले ज्वरो, एलर्जी, टाउको दुखाई र जीउ दुखाईका सामान्य साइड इफेक्ट देखाएको छ ।

मोडेर्नाको यो खोपको परीक्षण ३० हजार मानिसमा गरिएको थियो । जसअन्तर्गत ९२ प्रतिशतलाई खोप लगाएको ठाउँमा दुखेको, ६९ प्रतिशतलाई थकान अनुभव भएको ६३ प्रतिशतलाई टाउको दुखेको र ६० प्रतिशतलाई शरीर दुखेको थियो ।

मासाचुट्सेस राज्यको केम्ब्रिज सिटीमा दश वर्षअघि स्थापित मोडेर्नाको खोप एफडीएबाट अनुमोदित पहिलो उत्पादन हो । छोटो अवधिमा बायोटेक क्षेत्रमै उल्लेख्य प्रगति गरेको मोडेर्नाको सेयर मुल्य केही महिनायता ७ सय प्रतिशत बढेको छ ।

अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । पछिल्ला दिनहरुमा यहाँ दैनिक दुई लाखभन्दा बढी संक्रमित थपिने र तीन हजारभन्दा बढीको निधन हुने क्रम जारी छ ।

प्रभाव र सुरक्षाका हिसाबले दुवै खोप लगभग समान छन् । यद्यपी तुलनात्मक रुपमा मोडेर्नाको खोपलाई निकै सहज मानिएको छ ।

मोडेर्नाकोभन्दा फाइजरको खोप धेरै कम चिस्यानमा राख्नु पर्ने हुनाले सबै ठाउँमा पुर्याउन र भण्डारण गर्न चुनौतीपूर्ण मानिएको छ । मोडेर्नाको खोप चाहिं सामान्य रेफ्रिजेरेटरमा भण्डारण गर्न सकिने छ ।

मोडेर्नाको खोप माइनस २० डिग्री सेन्टिग्रेड र फाइजरको खोप माइनस ७५ डिग्री सेन्टिग्रेडको आसपासमा भण्डारण गर्नुपर्छ । यी दुवै खोप केही साताको अन्तरमा दुईपल्ट लगाउनु पर्छ । जसअन्तर्गत फाइजरको दोस्रो खोप २१ दिन र मोडेर्नाको दोस्रो खोप २८ दिनमा लगाउनु पर्छ ।


प्रकाशित मिति : डिसेम्बर १७, २०२०

Leave a Reply