१० दिनमा १० लाखले लगाए खोप

खबर

बोस्टन, अमेरिका
डिसेम्बर २४, २०२०


अमेरिकामा १० लाख मानिसमा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । खोप सुरुवातपछिको पछिल्लो १० दिनमा १० लाख जनालाई पहिलो डोज दिइएको अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ( सिडीसी) ले जनाएको छ ।

पछिल्लो अवधिमा कोरोना भाइरसको निरन्तर बृद्धिलाई खोपको यो अभियानले छिटै नियन्त्रणतर्फ लैजाने सिडीसीको विश्वास छ । अग्रपंक्तिमा रहेर विरामीको सेवा गर्ने स्वास्थ्यकर्मी र नर्सिङ् होमहरुमा बस्ने बृद्धबृद्धालाई यो खोपले ठूलो मद्दत गर्ने ठानिएको छ ।


सिडीसीका अनुसार हाल यो खोपको आपूर्ति सिमित मात्रामा भइरहेको छ । आगामी केही साता वा महिनापछि खोपको आपूर्तिमा उल्लेख्य बृद्धि हुने आशा छ । सरकारी लक्ष्यअनुसार सबैलाई खोप लगाउन भने केही महिना लाग्नेछ । यसका लागि सिडीसीले राज्यहरु, क्षेत्रीय र स्थानीय स्वास्थ्य सेवा प्रदायकहरुसँग मिलेर काम गरिरहेको जनाएको छ ।

“यो महामारी अन्त्य गर्न सबैले खोप लगाउनु जरुरी छ, जबसम्म सबै अमेरिकी खोप लगाउँदैनन् तबसम्म यो भाइरसको फैलावट रोक्ने उपायस्वरुप मास्क लगाउन, भौतिक दुरी कायम गर्न र हात धुने जस्ता स्वास्थ्य रणनीति पालना गर्न अनुरोध गछौं” सिडीसीले भनेको छ ।

अमेरिकी खाद्य तथा औषधी प्रशासनले फाइजरको खोपलाई डिसेम्बर ११ मा पहिलो र मोडेर्नाको खोपलाई डिसेम्बर १८ मा दोस्रो खोपका रुपमा मान्यता दिएको थियो । त्यसपछि डिसेम्बर १४ मा फाइजरको र डिसेम्बर २१ मा मोडेर्नाको खोप लगाउन थालिएको हो ।


यी दुवै अमेरिकी कम्पनी हुन् । दुवैले ठूलो मात्रामा खोप उत्पादन गरिरहेकाले चरणवद्ध रुपमा पर्याप्त खोप आपूर्ति गरिने बताएका छन् ।

यो खोप आएपछि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनदेखि वर्तमान उपराष्ट्रपति माइक पेन्स, सिनेटकी सभामुख न्यान्सी पेलोसी र अमेरिकी उच्चस्वास्थ्य अधिकारी एन्थोनी फाउचीसम्मले खोप लगाएका छन् ।

प्रकाशित मिति: डिसेम्बर २४, २०२०

Leave a Reply