क्रिसमसपछि के होला ?

खबर, लेख, लेख

थ्यांग्सगिभिङको ठूलो झड्कापछि क्रिसमसको त्रास

मनोज अधिकारी

बोस्टन, अमेरिका
डिसेम्बर २७, २०२०

यसपाली अमेरिकाले थ्यांग्सगिभिङको मुल्य निकै महंगो चुकायो । यसको चर्काे मुल्य अझै तिर्दैछ ।
अझ क्रिसमसको मुल्य कस्तो हुने हो ? अहिले आमअमेरिकी र सम्बन्धित निकायहरु यसप्रति चिन्तित छन् ।

अर्काे साता नयाँ वर्ष २०२१ को रौनकले यस्तो चिन्ता झनै बढाउने पो हो कि ? के थाहा, नयाँ वर्षले नयाँ खोपसँगै नयाँ आशा र उमंग लिएर पो आउँछ कि ? यो आशा हो । आशा गर्नका लागि कोरोनो महामारीविरुद्ध लड्ने खोपको सुरुवात पनि त भइसकेको छ ।

चिन्ता के को ?

अमेरिका खाद्य तथा औषधी प्रशासन (एफडीए) देखि रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी) सम्म र अन्य विभिन्न निकायको आग्रहका बाबजुद् करोडौं अमेरिकीले गत महिना थ्यांग्सगिभिङमा यात्रा गरे । छरिएका परिवार सदस्य एकै ठाउँ भेला भए । आफन्तहरु भेटे । अनि साथीभाईसँग जमघट गरेर वर्षकै ठूलो चाड मनाए ।

नभन्दै त्यसपछि अमेरिकामा कोरोनो भाइरसको संक्रमण दर उच्च बिन्दुमा पुग्यो । दिनदिनै रेकर्ड ब्रेक गर्दै संक्रमित संख्या बढ्यो । मृतकको संख्याले निरन्तर उकालो चढ्दै गयो । दैनिक दुई लाख ४० हजारको हाराहारीमा नयाँ संक्रमित थपिए । दिनहुँ तीन हजारभन्दा बढी मानिस मृत्युको समाचार बने ।

यसै पनि कोरोना महामारी विश्वव्यापी बन्न थालेदेखि अमेरिका सधैं अग्रस्थानमै छ । नोभेम्बर ३ को राष्ट्रपतीय निर्वाचनले आगोमा घ्यूक थप्ने काम गरिदियो । त्यसमाथि एकपछि अर्काे चाडबाडले यो अग्रतालाई झनै गति दियो । निर्वाचनको चहल पहलमा कसले कोरोनाको ख्याल गरोस् ? भइदियो त्यस्तै ।

चाडबाडको लहर

चुनावअघि हलोइन आयो । परिवार, छिमेकी र आफन्तले भेटघाट गरि संक्रमणलाई थोरै भने पनि मलजल गरे । चुनावले के गर्याे भन्नै परेन ।

चुनावपछि थ्यांग्सगिभिङ आयो । यहाँसम्म आइपुग्दा अवस्था भयावहको नजिक पुग्यो । अमेरिका बस्ने नेपाली तथा अन्य मुलुकका आप्रबासीले समेत आआफ्नो धर्म, संस्कृतिअनुसारका चाडबाड नमान्ने कुरै भएन । 

नेपालीले दशैं र तिहारजस्ता आफ्ना चाड मनाउँदा अहिले अवस्था सामान्य छैन भन्ने सोचेर पर्याप्त ध्यान दिएनन् । कोरोना संक्रमित समेत अरुका घरमा टीका थाप्न गए ।

फलस्वरुप यहाँको नेपाली समुदायमा पनि कोरोना संक्रमण फैलिएको खबर थुप्रै सुनिए । यतिबेलै आआफ्ना चाडपछि इण्डियन र बंगाली समुदायमा पनि संक्रमित उल्लेख्य बढे ।

विज्ञ एवं प्रशासनिक निकायहरुको निरन्तरको चेतावनी बेवास्ता गर्दै सबैले आ आफ्ना गतिविधि बढाएपछि कोरोनाले सञ्चार हुने पर्याप्त माध्यम पाउने नै भयो । जसका कारण अमेरिकाले ठूलो मुल्य चुकाउनै पर्याे । त्यो हो, दिनदिनै दुई लाखभन्दा बढी संक्रमित र तीन हजारभन्दा बढीको मृत्यु ।

थ्यांग्सगिभिङपछिको अवस्थालाई ठूलो मुल्यसँग दाँजेर विश्लेषण गरियो । अमेरिकाले क्षति व्यहोरेको यो केवल आर्थिक मात्रै हैन सामाजिक र मानविय जीवनको मुल्य समेत हो ।

क्रिसमसपछि के होला ?


नभन्दै क्रिसमस पनि आइपुग्यो । सावधानीको आग्रह र सम्भावित अवस्थाको चेतावनी सम्बन्धित निकायहरुले दिइरहे । धेरैले यसपल्ट क्रिसमसमा यात्रा गरेनन् । यात्रा गर्ने कतिपयले सकेसम्म सतर्कता अपाए होलान् । र पनि कुनै यस्तो जमात हुन्छ जो जे पर्ला त्यस्तै टर्ला भनेर स्थितिलाई नजरअन्दाज गरिदिन्छ ।

हो, यस्तै व्यक्ति वा जमात सुपर स्पेडर बनिदिन्छन् भन्ने डर धेरैमा छ । क्रिसमसअघि नै कैयन् राज्यका अस्पतालहरु कोरोना विरामीले भरिभराउ भइसकेका थिए । आइसियू बेडहरुको अभाव भइरहेको छ । अस्पतालहरुले सकभर नयाँ विरामी लिने अवस्था छैन ।

अर्थ अव्यवस्था र राहत


विश्वकै विशाल अर्थव्यवस्था भएको मुलुक हो अमेरिका । ३३ करोड हाराहारी जनसंख्या छ यहाँ । संसारभरकै ठूल्ठूला कम्पनीदेखि शक्तिशाली निकायहरु यहीं छन् । तिनका सञ्जाल उत्तिकै ठूला छन् । हवाइमार्गदेखि, जल तथा स्थलमार्ग र रेलमार्गसम्मका सञ्जाल पनि असाध्यै ठूला छन् ।

यो आफैंमा ५० राज्यको विशाल मुलुक हुँदै हो । यहाँ दैनिक जनजीवनसँग जोडिएका अधिकाँश सेवा र क्षेत्रहरु चालु छन् । तिनीहरुले सरकारबाट आर्थिक राहत तथा नीतिगत सुविधा पाएका छन् । भलै कतिपय साना तथा ठूला व्यवसायले कोरोनाको धक्का धान्न सकेनन् ।

अमेरिकी अर्थव्यवस्था तलमाथि हुँदा पुरै विश्वकै गति धरमराउने विषय नौलो होइन । यसमाथि कोरोना महामारीबाट संसारभरका हरक्षेत्र ग्रस्त छन् ।
अमेरिका आफैंमा सबैभन्दा प्रभावित मुलुक भएर पनि अर्थव्यवस्था चलायमान राख्न हरप्रयास गरिरहेको छ । यहाँको भिमकाय श्रमबजार गतिशील छ । 

कोरोनाका कारण अहिले काम गर्ने तौरतरिका केही बलिएका छन् । वर्कफ्रम होमदेखि, भर्चुअल, हाइब्रिड लगायत नयाँ मोडल चल्तीमा छन् । स्कुल, कलेज, ट्रेनिङ सेन्टर, बैठक, सभा, समारोहरु भर्जुअल चल्दैछन् । कोरोनाको सुरुवाती झट्काबाट रोकिएको रोजगारी विस्तारै फर्किँदैछ । बेरोजगारले पर्याप्त बेरोजगारी भत्ता पाइरहेका छन् ।

साना तथा ठूला व्यवसायी र व्यक्तिले समेत सरकारी राहत, अतिरिक्त भत्ता पाएका छन् । यसबाहेक राज्य तथा नगरस्तरिय निकायबाट पनि व्यवसायी र आमजनताले आर्थिक सहयोग पाएका छन् । यो सबै अर्थतन्त्र निरन्तर चलेकै कारण सम्भव भएको हो ।


चिन्तासँगै आशा पनि


अहिले क्रिसमसपछिको अवस्था झन् डरलाग्दो हुने एकाथरीको आंकलन छ । यद्यपी कोरोनाविरुद्धको खोप सुरुवातले केही हदसम्म स्थिति भयावह हुन नदिने आशा पनि गरिंदैछ । 

भलै, फाइजर र मोडेर्नाका यी खोप पर्याप्त मात्रामा उपलब्ध भइसकेका छैनन् । र खोपका केही साइड इफेक्टले यसप्रति जनमानसमा अझै डरको अंश हट्न सकेको छैन ।

यस्तो अवस्थामा नयाँ वर्ष २०२१ को सुरुवातसँगै कोरोनाले झनै उग्ररुप लिने र मुलुक थप आक्रान्त हुने चिन्ता छ । यो चिन्तालाई खोपको तीब्र उत्पादन र आपूर्तिले चिर्ने विश्वास चाहिं बढ्दो छ ।

आशा गरौं, नयाँ वर्ष २०२१ ले २०२० को कहालीलाग्दो महामारी र सबैका कठिन अवस्था बिर्साउला ।
कोरोनाविरुद्धको खोप अभियान तीब्र भएर जाला । रोजगारी छिटै पूर्ववत् अवस्थामा फर्किएला । अर्थतन्त्र अझै चलायमान हुँदै गर्ला । अहिलेको चिन्ता छिटै हराउला । सबै सकुशल रहेर पहिलेझैं घुमफिर र भेटघाटको समय फर्केर आउला ।

प्रकाशित मिति : डिसेम्बर २७, २०२०

Leave a Reply