अमेरिकी संसदका डेमोक्र्याटको बहुमत, डिसीमा तनाव

खबर, लेख, लेख

बोस्टन, अमेरिका
जनवरी ६, २०२१

अमेरिकी संसदको दुवै सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्समा एक दशकपछि डेमोक्रेटिक पार्टीलाई बहुमत प्राप्त भएको छ ।

हिजो मंगलबार जर्जिया राज्यमा संसदको माथिल्लो सदन सिनेटका दुई सदस्यका लागि भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीले जित हात पारेपछि यो सम्भव भएको हो ।

प्राप्त पछिल्लो मत परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार राफल वार्नक र जोन ओसफ विजयी हुने प्रक्षेपण गरिएको छ । जसअनुसार रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर पराजित भएका छन् ।

उनीहरुले हालसम्म पाएको मत र गणना हुन बाँकी रहेको मत संख्याको अन्तरका आधारमा डेमोक्र्याट उम्मेदवार विजयी हुने प्रक्षेपण गरिएको हो । यद्यपि मतगणना पुरा भएपछि मात्रै आधिकारिक निकायबाट उनीहरु निर्वाचित भएको घोषणा गरिने छ ।

कुल १०० सदस्यीय सिनेटमा यसअघि डेमोक्र्याटतर्फ ४८ र रिपब्लिकनतर्फ ५० उम्मेदवार निर्वाचित भएका थिए । बुधबारको यो नतिजापछि संख्याका हिसाबले सिनेटमा दुवै पार्टीको बराबरी हुन्छ ।

सिनेटमा मतदानमार्फत् निर्णय गर्ने पर्ने अवस्थामा उपराष्ट्रपतिले निर्णायक मत दिन पाउने व्यवस्थाका कारण त्यसको लाभ डेमोक्रेटिक दललाई हुनेछ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा यसअघि नै डेमोक्र्याटको बहुमत छ ।

अमेरिकी भावी राजनीति र रणनीति निर्धारण गर्ने जर्जियाको यो निर्वाचनलाई निकै ठूलो महत्वका साथ हेरिएको थियो । गत नोभेम्बर ३ को निर्वाचनमा सिनेटका लागि कुनै पनि उम्मेदवारले बहुमत (कम्तिमा ५० प्रतिशत) नल्याएपछि मंगलबार दोस्रोपटक मतदान गरिएको हो ।

डेमोक्र्याट्सले इलेक्टोरल कलेज बहुमत पाएपछि राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भइसकेका छन् । उनीहरुले जनवरी २० मा पदभार सम्हाल्ने छन् ।

यसैबीच, अमेरिकी संसदको संयुक्त सदनमा आज बुधबार इलेक्टोरल कलेज प्रमाणित गर्ने क्रममा असहज परिस्थिति सृजना भएको छ । सदनको प्रक्रिया चल्दै गर्दा बाहिरबाट प्रदर्शनकारीहरु सदनमा प्रवेश गरेपछि अवस्था तनावपूर्ण भएको छ । जसका कारण हाल सदनको उक्त प्रक्रिया अवरुद्ध छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको नतिजा आफ्नो पक्षमा नआएपछि त्यसलाई स्वीकार नगरि विरोध गर्दै आएका छन् । यसैक्रममा उनले आजै डिसी क्षेत्रमा आफ्ना समर्थकहरुको जुलुस गराएका थिए । उनको सम्बोधनपछि त्यही जुलुसले हिंसात्मक रुप लिएर संसदको कारबाही चलिरहेको क्यापिटल हिल भवन प्रवेश गरेको हो ।

त्यसपछि उत्पन्न जटित परिस्थितिपछि साँझबाट डिसीमा कर्फ्यू लगाउनुका साथै सेना परिचालन गरिएको हो ।


प्रकाशित मिति : जनवरी ६, २०२१

Leave a Reply