बैज्ञानिकले बनाए नक्कली रगत, पहिलो प्रयोग सुरु

खबर, लेख, लेख

बोस्टन, अमेरिका

बेलायतका बैज्ञानिकले प्रयोगशालाबाट नक्कली रगत बनाएका छन् । यसरी बनाइएको रगत दुई व्यक्तिको शरीरमा प्रयोग पनि गरिएको छ । बैज्ञानिकहरुले प्रयोगशामा तयार पारेको रगत मानिसमा प्रयोग गरिएको यो पहिलोपटक हो ।
यो प्रयोग सफल भए रक्त सम्बन्धी रोगसँग जुधेका लाखौं बिरामीका लागि बरादान सावित हुने बैज्ञानिकहरुको आशा छ ।

दुर्लभ रक्त समूह हुने बिरामीका लागि समेत यो उपयोगी हुनेछ । दुर्लभ रक्त समूहका मानिसले सहजै रगत नपाउँदा धेरैले ज्यान गुमाउने गरेका छन् । यो परिक्षण सफल भए अर्काे त्यस्ता मानिसहरुका लागि झनै बरदान हुने ती वैज्ञानिकहरु बताउँछन् ।

रगतका विषयमा वैज्ञानिकहरुले गरेको नयाँ खोज जादूजस्तै लाग्न सक्छ ।
नेसनल इन्स्टिच्यूट अफ हेल्थ एण्ड केयर रिसर्चका शोधकर्ताले प्रयोगशालामा रगत उत्पादनका लागि स्वयंसेवी रक्तदाताको स्टेम कोशिकाको प्रयोग गरेका थिए । त्यसरी तयार पारिएको रगत दुईजना स्वयंसेवकमा ५ देखि १० मिलिलिटरसम्म चढाइएको छ ।

प्रयोगशालामा तयार भएका रक्त कोशिकाहरुले प्राकृतिक रगतमा हुने रक्तकोशिकाले भन्दा पनि राम्रोसँग काम गर्ने अपेक्षा वैज्ञानिकहरुको छ ।

ब्रिस्टल विश्वविद्यालयका प्राध्यापक एशले टोयकाअनुसार स्टेम कोशिकालाई रक्त कोशिकामा परिणत गर्नेतर्फ यो प्रयोग एक ठूलो कदम हुनेछ ।

प्रयोगशालामा निर्मित रगत चढाइएका दुई व्यक्ति निरन्तर निगरानीमा छन् । ती दुवैमा अहिलेसम्म कुनै साइड इफेक्ट देखिएको छैन र पूर्णरुपमा स्वस्थ छन् । यो परीक्षणका लागि चार महिनाभित्रमा कम्तिमा १० जनामा दुईपटक उक्त रगत चढाइनेछ ।

एजेन्सीको सहयोगमा