अग्नि जस्तै अग्नि महाकाव्य

खबर, लेख, लेख, साहित्य

कृष्णराज खनाल, हाल अमेरिका

ग्निको वरिपरि रातदिन बसेर हातहतियार उध्याउने, बनाउने र त्यसलाई अर्चाप्ने सीमान्तकृत वर्गको कथा हो ‘अग्नि’ । अग्निको मूल चेतना अग्नि जस्तै छ, अस्पृष्य । २०७८ सालको मदन पुरस्कार विजेता पुस्तक हो यो ।

मेरा मित्र डा. नवराज लम्सालको यो महाकाव्य दुई बसाइमा पढेर सकेँ । गद्य भाषामा लेखिएको यो काव्य पढ्दा मनमा अनेकन कूतुहल र जिज्ञासा अविश्रान्त आइरहे । ‘जेठी तरबार’को ताकत मजाले देखियो तर इतिहासमा लेखिएन । त्यसैले कवि लम्साल अघि सरे ।

लेखक

सीमान्तकृत वर्गमाथि तत्कालीन र वर्तमान लोकतान्त्रिक भनिएको राज्यसत्ताले समेत उचित न्याय गर्न नसकेको खरो टिप्पणी काव्यमा छ । ठूले कामीको त्यो आरन, त्यो अग्नि, राजा पृथ्वीनारायण र जेठी तरबार । यसैको सेरोफेरोमा काव्यपंक्तिहरु इतिहासका गल्छेडाहरु पहिल्याउँदै हिँडेको भान हुन्छ ।

हो, साँच्चै त्यो आरनले यो राज्यमाथि कहिल्यै पनि बिर्सन नसक्ने गुन लगाएको पाएँ । पूर्वीय मान्यताअनुसार महाकाव्यको नायक धीरोदात्त गुणले सम्पन्न हुनुपर्ने हो । बालकृष्ण समको ‘चीसो चूल्हो’मा जस्तो एउटा साधारण पात्रलाई उनले नायक बनाएका छन् । तिनै ठूले कामी र तिनले अग्निमा खारेर बनाएको जेठी तरबारको कथा यसको भाव र पृष्ठभूमि हो । त्यसैको वरिपरि अरु स-साना ऐतिहासिक तथ्य र कथ्यहरु मिसाएर यो महाकाव्यको जग बलियो बनेको छ ।

जुनीमाया भन्छे-‘माइतीले नस्वीकारेको चेली हुँ।आफन्तले वचन रोपेको आफन्ती हुँ।समाजले तिरस्कार गरेको नारी हुँ।राज्यले नहेरेको वर्ग हुँ तर पनि बाँचेकै छु।मलाई मेरो प्रेमले उज्यालो दिएको छ र आत्मविश्वासले बल दिएको छ।यही विश्वासको डोरी नछिने पुग्छ बाबु ।’

डा. लम्साल सिद्धहस्त लेखक र वाचक हुन् । उनको लेखनशैलीभन्दा म उनको वाचनशैलीको बढी प्रशंसक हुँ । अग्नि महाकाव्यको भावभूमि गहिरो छ । पूर्वीय दर्शन र नेपाली इतिहासको मूल समातेर त्यही अग्नि, फलाम र खलाँती बोकेर राजा, महाराजाको हातहतियार बनाउने र तिनै हतियारमार्फत राज्य विजयको शंखघोष गर्ने राजाहरुको इतिहास सुनौलो अक्षरमा लेखिएको छ भने ती हतियार निर्माता विश्वकर्माहरु किन गुमनाम छन् ? किन उनीहरुको इतिहास नामेट छ ? किन उनीहरु दलित बनेर बसेका छन् ? उनीहरुले बनाएका सबै चीज र वस्तु हामी उपयोग गर्छौ तर उनीहरुसँग हामीले छूत र अछूतको व्यवहार किन गरिरहेछौँ ?

यी र यस्ता प्रश्नको गहकिलो उत्तर कविले यो काव्यमार्फत खोजिरहेका छन् । आरनबाट उठेको वीरताले जोगाएको देशमा त्यही आरन र आरनको अग्निमा रातोदिन खेल्नेहरु आगोका मूल मालिकहरु कसरी अछूत हुन गए ? यो प्रश्न उनले राज्यसँग सोधेका छन् । यो नै काव्यको मूल बीउ हो । उनले आरनलाई सहनशील छातीको राजधानी भनेर तुलना गरेका छन् । उनी भन्छन्-‘यस देशको सम्पूर्ण वीरता र विजयको मूलसूत्र ‘हतियार’ ।’

‘आरनबाट फर्केपछि गाईको गहुँत र सुनपानी छर्केर चोखिने चेतनाले कसरी लेख्छः आरनको इतिहास, मान्छेको मर्यादा ? कसरी बुझ्छ सीपको अर्थ र सामर्थ्यको सीमा ? तपाईँको दृष्टिकोणमै खोट छ महोदय ।’

२८८ पृष्ठ लामो यो काव्य ४१ सर्गमा विभक्त छ । ठाउँ-ठाउँमा उनी अग्निजस्तै तेज निकालेर सोध्छन्-‘आरनबाट फर्केपछि गाईको गहुँत र सुनपानी छर्केर चोखिने चेतनाले कसरी लेख्छः आरनको इतिहास, मान्छेको मर्यादा ? कसरी बुझ्छ सीपको अर्थ र सामर्थ्यको सीमा ? तपाईँको दृष्टिकोणमै खोट छ महोदय ।’

उनी भन्छन्-‘आरन सकिएको दिन देशको एउटा संस्कृति सकिनेछ, सकिनेछ वीरताको जग र घरेलु इञ्जिनियरिंगको युद्धकालीन निशानी ।……कसैगरी पग्लिँदो रहेनछ शासक हुनेहरुको मन।फलाम पगाल्यौँ तर मान्छे पगाल्न सकेनौँ ।’

विश्वकर्मासँग प्रेम विवाह गरेर आएकी जुनीमाया भन्छे-‘माइतीले नस्वीकारेको चेली हुँ।आफन्तले वचन रोपेको आफन्ती हुँ।समाजले तिरस्कार गरेको नारी हुँ।राज्यले नहेरेको वर्ग हुँ तर पनि बाँचेकै छु।मलाई मेरो प्रेमले उज्यालो दिएको छ र आत्मविश्वासले बल दिएको छ।यही विश्वासको डोरी नछिने पुग्छ बाबु ।’

यस्ता ज्वालाहरु पुस्तकका हरेका पात्र र पानामा छन् । कविले काव्यलाई तन्काएका छन्, मकवानपुरका राज हेमकर्ण सेन र उनकी रानी इन्द्रकुमारी, वनारस, गोरखा, छेलांगी, जुनीमाया जस्ता पात्र र स्थानलाई प्राथमिकतामा राखेर । यी सबै पात्र र स्थानमा अग्निको पुञ्ज पुर्याएर काव्यकारले न्याय गरेका छन् भन्ने मेरो विश्वास छ ।

प्रकाशित : मिति नोभेम्वर १४