कोरोनाको नयाँ प्रकार अमेरिकामा पनि भेटियो

खबर, लेख, लेख

बोस्टन, अमेरिका
डिसेम्बर २९, २०२०

कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि देखा परेको छ । बेलायतमा केही साताअघि देखिएपछि तीब्ररुपमा अन्यत्र फैलिरहेको यो भाइरसको नयाँ प्रकार मंगलबार पहिलोपल्ट अमेरिकाको कोलोराडोका एक व्यक्तिमा पुष्टि भएको हो ।
कोलोराडोका गर्भनरले मंगलबार साँझ यसको जानकारी दिंदै अमेरिकामा पहिलोपल्ट यो भाइरसको नयाँ प्रकार पुष्टि भएको बताए । यो भाइरसको प्रकार बेलायतमा भेटिएको नयाँ प्रकारसँग मिलेकोले त्यतैबाट आएको अनुमान छ ।

उनी २० व र्ष हाराहारीका युवा हुन् । हालसालै कतै यात्रा नगरेका उनी अहिले आइसोलेसनमा छन् । उनलाई पनि यो नयाँ प्रकार अरुबाट सरेको आशंका छ ।

बेलायतबाट फैलिएको कोरोना भाइरसको नयाँ प्रकार धेरै मुलुकमा देखा पर्न थालेपछि विश्वभर अर्काे तनाव सुरु भएको छ । कोरोनाको खोप भर्खरै सुरु भएसँगै यो भाइरसको नयाँ प्रकारले विज्ञ एवं विश्वजगतलाई तरंगित तुल्याएको छ ।

यसअघि कोरोना भाइरसको यो नयाँ प्रकार कैयन् यूरोपेली मुलुकका साथै क्यानडा, जापान, इण्डिया लगायतका देशमा देखा परिसकेको छ ।

प्रारम्भिक अनुसन्धानले नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशत बढी सर्ने खालको पाइएको छ । विज्ञहरुका अनुसार यसको विकासक्रम पहिलेभन्दा झन् डरलाग्दो छ । 

हालै प्रयोगमा आएको खोपले नयाँ प्रकारको भाइरसलाई काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन नसकिएको अनुसन्धानकर्मीहरुले औंल्याएका छन् ।

विश्व स्वास्थ्य संगठन समेत कोरोनाभाइरसको नयाँ प्रकारका कारण चिन्तित छ । यो भाइरस कत्तिको घातक छ भन्ने यकिन भने भइसकेको छैन । यद्यपी यसको फैलिने गति निकै तीब्र रहेकाले यो चिन्ताको विषय भएको संगठनले उल्लेख गरेको छ ।

अमेरिकामा एकपछि अर्काे चाडवाडले मानिसहरुको बाक्लो चहलपहल हुँदा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढ्दो छ । हालैको क्रिसमस र आगामी नयाँ वर्षमा मानिसको यात्रा दर निकै बढेकाले आगामी महिना थप कष्टकर हुने विज्ञहरुले चेतावनी दिएका छन् ।

अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले डिसेम्बरको तुलनामा जनवरी अझै खराब हुने उल्लेख गरेका छन् । यही बेला कोरोना भाइरसविरुद्ध दुई अमेरिकी कम्पनीका खोप सुरु भए पनि भाइरसको अर्काे नयाँ प्रकार निस्किएपछि यसले तनाव थपिदिएको छ । विज्ञहरुले यसको असर र सम्भावित कदमबारे अनुसन्धान र छलफल गरिरहेका छन् ।


प्रकाशित मिति : डिसेम्बर २९, २०२०

Leave a Reply