अमेरिकामा हिमपातको कहर

खबर, लेख, लेख

फेब्रुअरी १५, २०२१
बोस्टन, अमेरिका


ठूलो हिमपात र हिमआँधीले आधा अमेरिका अहिले ढाकिएको छ । दक्षिणको टेक्ससदेखि पूर्वी उत्तरको मेन राज्यसम्मका दुई दर्जनभन्दा बढी राज्यमा एकैपटक हिमपातले असर पारेको अमेरिकी मौसम विभागले जनाएको छ ।


खराब मौसमका कारण कैयन् राज्यमा जारी कोरोना भाइरसविरुद्धको खोप अभियान रद्द भएका छन् । कैयन् राज्यस्थित राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका विमानस्थल समेत बन्द भएकाले हजारौं उडान रद्द भएका छन् । रन वे पुरै जमेकाले भोलि मंगलबारका लागि पनि उडानहरु नहुने सूचना जारी गरिएको छ ।


सोमबार बिहानैबाट सुरु भएको हिमपातले टेक्सस, ओक्लोहमा, लुजियाना, अर्कान्सास, मिज्यौरी, नेभाडा, भर्जिनियाँ, मिसिसिपी, केन्सास, केन्टकी लगायतका २६ राज्यलाई बढी प्रभावित पारेको विभागको रिपोर्ट छ । तीमध्ये केही राज्यले आवश्यक सहायताका लागि नेशनल गार्ड परिचालनको अवस्थामा राखेका छन् ।


यो हिमपात र आँधीले अहिले झण्डै १७ करोड मानिसको दैनिक काम, व्यवसाय, लामो तथा छोटो दुरीको यात्रालगायत गतिविधिलाई प्रभाव पारेको छ । मिज्यौरी राज्यका गर्भनरले अत्याधिक जाडोका कारण यो साताका लागि निर्धारित कोभिड खोपका सबै कार्यक्रम रद्द गरिएको जनाएका छन् ।


यस्तै नेभाडा र टेक्सस राज्यमा पनि पूर्वनिर्धारित खोप अभियान हिमआँधीका कारण प्रभावित हुने भएका छन् ।
केन्टकी राज्यको यातायात विभागले सडकको अवस्थालाई अत्यन्तै खतरनाक भन्दै बाहिर ननिस्कन मानिसहरुलाई आग्रह गरेको छ । त्यहाँ सडकहरु सफा गर्न दुई हजारभन्दा बढी कर्मचारी र एक हजारभन्दा बढी उपकरण परिचालन गरिएको विभागको भनाई छ ।


मिसिसिपी राज्यमा हिउँले सडकको अवस्था निकै खराब हुँदा सयौं दुर्घटना भएका छन् । त्यहाँ ४४३ वटाभन्दा बढी हाइवे दुर्घटनाको रिपोर्ट गरिएको समाचार छ । लुजियाना राज्यका कैयन् स्थानमा अत्याधिक खराब मौसमका कारण रातभरका लागि कफ्र्यू आदेश नै जारी गरिएको छ ।


सधैं तातो राज्यका रुपमा चिनिने टेक्सस समेत यो हिमपातबाट धेरै प्रभावितको सूचीमा पर्नुलाई अनौठो मानिएको छ । त्यहाँ पछिल्लो ३० वर्षयता तापक्रम सबैभन्दा तल झरेको छ । विद्युत आपूर्ति समेत बन्द हुँदा टेक्ससमा लाखौं मानिसले अफ्ठेरो अवस्थाको सामना गर्नुपरेको छ । जसका कारण मानिसहरुले जीवनमै पहिलोपल्ट धेरै जाडो खप्नु पर्ने अवस्थाको चेतावनी दिइएको छ ।

टेक्ससका कैयन् ठाउँमा पहिलोपल्ट हिउँ परेको छ । कतिपय ठाउँमा चाहिं अहिलेसम्मकै उच्च रेकर्ड कायम हुने गरि १० इन्चसम्म हिउँ परेको छ । राष्ट्रपति जो बाइडेनले टेक्सस राज्यभर आपतकाल घोषणा गर्नुका साथै संघीय आपतकालिन सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् ।


अन्य कैयन् राज्य तथा सिटीहरुमा पनि राज्यस्तरबाट आपतकाल घोषित भएका छन् । टेक्ससमा हवाई सेवा, राजमार्ग तथा विद्युत आपूर्तिमा समेत अवरोध आएको छ । अमेरिकाकै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र समेत बन्द भएको छ । सोमबार साँझ हुने ठूल्ठूला खेल प्रतियोगिताहरु रद्द हुन पुगेका छन् । विद्युत अभावमा हुस्टनबाट प्रकाशित हुने केही पत्रिका समेत मंगलबार नछापिने सूचना आएका छन् ।


हुस्टन प्रहरीले सडकमा निस्कनु ज्यादै खतरापूर्ण भएकाले घरभित्रै रहन मानिसहरुलाई आव्हान गरेको छ । सधैं व्यस्त रहने हुस्टन सहर सोमबार निकै सुनसान देखिएको छ ।


बाक्लो हिमपातले बिद्युत प्रणालीमा समेत असर टेक्सस लगायत आधा दर्जन राज्यका लाखौं मानिस अन्धाकारमा परेका छन् । टेक्ससमा मात्रै करिब ३८ लाख मानिस बिद्युत अवरोधको मारमा परेका छन् । यस्तै
टेक्ससमा अत्याधिक चिसोसँगै राजमार्गमा ब्लाक आइस जमेकाले कैयन् सवारीसाधन चिप्लिएर धेरै दुर्घटना भएका छन् । यस्ता दुर्घटनाबाट पछिल्ला केही दिनयता १२ जनाको ज्यान गएको छ ।


केही राज्य तथा काउन्टीका अधिकारीहरुले यो हिमपात र जाडोका कारण आगामी केही दिनसम्म कठिन अवस्थाको सामना गर्नुपर्ने बताएका छन् ।

विभिन्न समाचार एजेन्सीको सहयोगमा

प्रकाशित मिति : फेब्रुअरी १५, २०२१

Leave a Reply